काठमाडौँ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागेकाले दुई दिनका लागि सेवा बन्द हुने जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्न लागिएकाले यही असार २५ र २६ गते (तदनुसार जुलाई ९ र १०) राहदानी आवेदन तथा उत्पादनसम्बन्धी सेवाहरू बन्द रहने जानकारी दिएको हो।
यसअघि विभागले असार १९ गते नै सार्वजनिक सूचना जारी गरी प्रणाली परिवर्तनका कारण उक्त दुई दिन सेवा अवरुद्ध हुन सक्ने अवगत गराएको थियो। राहदानीसम्बन्धी नयाँ आवेदन लिने कार्य बन्द रहे पनि विभागले यसअघि नै तयार भइसकेका राहदानी वितरणको काम भने नियमित रूपमा सुचारु राख्ने स्पष्ट पारेको छ।
आफ्नो मोबाइलमा राहदानी सङ्कलनका लागि जानकारीमूलक एउटा सन्देश (एसएमएस) प्राप्त गरिसकेका सेवाग्राहीहरूले सोही अवधिमा पनि विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन सक्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ।