उद्योग–व्यवसाय प्रवर्द्धन र आर्थिक सुधारका लागि निजी क्षेत्रसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय संवाद

उद्योग–व्यवसाय प्रवर्द्धन र आर्थिक सुधारका लागि निजी क्षेत्रसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय संवाद

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानीको वातावरण तथा समग्र आर्थिक सुधारका सवालमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई थप चलायमान र सशक्त बनाउने विषयमा जोड दिए। उनले उद्योग व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा प्रक्रियागत अवरोधहरूलाई हटाउँदै रोजगारी सिर्जना र उत्पादन वृद्धिका लागि लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्नु नै वर्तमान आर्थिक सुधारको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो।

सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास र लगानी विस्तारमा निजी क्षेत्र सरकारको सबैभन्दा महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरूले भोग्दै आएका व्यावहारिक समस्याहरू समाधान गर्न सरकार सधैं तत्पर रहने बताए। उनले निजी क्षेत्रमैत्री प्रशासनिक र कानुनी सुधारका कार्यहरूलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता तथा सेवा प्रवाहमा सरलता ल्याउन सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले सरकार र निजी क्षेत्रबीच परिणाममुखी संवादको निरन्तरता हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री शाहले निजी क्षेत्रका तर्फबाट प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत तत्काल आवश्यक सहजीकरण र सुधारका कदम चालिने विश्वास दिलाए।

उक्त महत्त्वपूर्ण छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको थियो। सरकार र निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरूबीच भएको यो संवादले आगामी दिनमा निजी क्षेत्रमैत्री नीति निर्माण र औद्योगिक वातावरण निर्माणमा गुणात्मक सहयोग पुग्ने विश्वास गरिएको छ।

छुटाउनुभयो कि ?