काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख र विपक्षी दलका सांसदबीच भनाभन भएपछि संसद्मा तनाव उत्पन्न भएको छ। सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी दलहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले एकसाथ उभिएर विरोध गरेपछि सभामुख अर्यालले सुरुमा कांग्रेस सांसद प्रमिला कुमारी गच्छदारलाई बोल्ने समय उपलब्ध गराएका थिए।
त्यसपछि सभामुखले एमाले सांसद राजेन्द्र राईलाई बोल्नका लागि समय दिएका थिए। तर, सांसद राईले बोल्ने क्रमको सुरुमै सभामुखलाई लक्षित गर्दै, "कान सुन्नुहुन्छ कि हुन्न ?" भनी प्रश्न गरेपछि बैठकमा तनावको स्थिति सिर्जना भयो। सांसद राईको उक्त प्रश्नप्रति सभामुख अर्यालले तत्कालै आक्रोश र कडा आपत्ति जनाए।
सभामुख अर्यालले आफ्नो भनाइ मर्यादामा रहेर राख्न चेतावनी दिँदै भने, "सभामुखको अवहेलना गर्दै हुनुहुन्छ।" त्यसलगत्तै सभामुखले राईलाई थप बोल्न समय नदिई रोकेका थिए।
सांसद राईको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले समेत संसद्मा नियमापत्ति जनाउँदै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरिन्।
संसद्मा नियमापत्ति र विरोधका बीच सभामुख अर्यालले पुनः सांसद राईलाई बोल्ने अनुमति दिएका थिए। तर, राईले बोल्दाबोल्दै बीचमै रोकेर सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।