काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तय गरेको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न भन्सार र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकहरूलाई इमानदारीपूर्वक काम गर्न कडा निर्देशन दिएका छन्।
सरकारको राजस्व सङ्कलन गर्ने प्रमुख दुई खम्बाका रूपमा रहेका भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भुसाल र डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि मङ्गलवार अर्थ मन्त्रालयमा बोलाएर मन्त्री वाग्लेले विशेष निर्देशन दिएका हुन्।
भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले मुलुकमा व्यावसायिक वातावरण कायम राख्दै तोकिएको राजस्वको लक्ष्य हासिल हुने गरी ‘मिसन १६ खर्ब’ लाई सफल बनाउन विशेष आग्रह गरे । उनले उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्दै राजस्व चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र करदातालाई कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले नीतिगत तथा व्यावहारिक रूपमा सबैखाले सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
भन्सार र राजस्व प्रणालीलाई प्रविधिसँग जोडेर थप चुस्त, प्रभावकारी र पारदर्शी बनाउन निर्देशन दिँदै मन्त्री वाग्लेले डिजिटल प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहमा सुधार ल्याउनुपर्नेमा जोड दिए । भन्सार तथा कर आम्दानी वृद्धि गरी मुलुकको आन्तरिक आय बलियो बनाउन सके बाह्य ऋणमाथिको निर्भरता घट्ने र आफ्नै स्रोतबाट विकास निर्माणलाई गति दिन सकिने उनको भनाइ थियो ।
प्रशासनिक संयन्त्रमा सक्षम र अब्बल सहसचिवका रूपमा छवि बनाएका अधिकारीहरूलाई राज्यको प्रतिष्ठा र अर्थतन्त्रको मेरुदण्डसँग जोडिएका निकायको नेतृत्वमा ल्याइएकाले आगामी ६ देखि ८ महिनाभित्रै राजस्व सङ्कलनमा सकारात्मक परिणाम देखिने विश्वास अर्थमन्त्रीले व्यक्त गरे । गत असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव त्रय यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो ।
असार २२ गते मन्त्रालयमा हाजिर भएका उनीहरूलाई मन्त्रालयले क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी तोकेको हो । नयाँ जिम्मेवारी पाएका तीनै जना उच्च अधिकारीहरूले अर्थमन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्दै राजस्व सङ्कलनमा सुधार ल्याउन र समग्र प्रणालीको सुदृढीकरणका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।