कांग्रेस नेता अभिषेक गिरी पक्राउ

कांग्रेस नेता अभिषेक गिरी पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेक गिरी पुनः पक्राउ परेका छन्। मोरङ कारागारको रासन भत्ता र श्रम पारिश्रमिक असुली गरेको आरोपमा थुनामा रहेका गिरीलाई जिल्ला अदालत मोरङले थुनामुक्त गर्न आदेश दिएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्को गम्भीर मुद्दामा पक्राउ गरेको हो।

सीआईबीका अनुसार, गिरीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको नयाँ मुद्दा दर्ता भएको छ। काठमाडौं जिल्ला अदालतले असार २२ गते पक्राउ पुर्जी जारी गरेपछि उनलाई सोमबार पक्राउ गरी काठमाडौं ल्याइएको हो।

सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार, गिरीले निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई सरकारी ठेक्का मिलाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरेको आरोप छ। गिरीले ‘आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि.’ मार्फत काम गराइदिने विश्वास दिलाए पनि सम्झौताविपरीत उल्टै पीडितलाई आर्थिक नोक्सानी पुर्‍याएको प्रहरीको दाबी छ।

अनुसन्धानका क्रममा गिरीले निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू धनीलाई जानकारी नै नदिई कवाडीमा बिक्री गरेको खुलेको छ। साथै, उनले अन्य सवारी साधनहरूमाथि डर र त्रास देखाएर जबरजस्ती कागजात गरी आफ्नो नाममा नामसारी गराएको प्रहरीले जनाएको छ। पीडित व्यवसायी श्रेष्ठले अरूबाट पाउनुपर्ने रकमसमेत गिरीले दबाब दिएर आफ्नै नाममा चेक काट्न लगाई आर्थिक लाभ लिएको सीआईबीका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए।

विराटनगर महानगरपालिका-४, मधुमरा घर भएका ४८ वर्षीय गिरी यसअघि पनि विभिन्न विवादित गतिविधिमा संलग्न रहँदै आएका छन्। ठगी र आपराधिक विश्वासघातको कसूरमा उनीमाथि अहिले थप विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?