सरकारलाई १०० दिनको अल्टिमेटम दिँदै किसान-मजदुर आन्दोलनद्वारा आन्दोलनको घोषणा

सरकारलाई १०० दिनको अल्टिमेटम दिँदै किसान-मजदुर आन्दोलनद्वारा आन्दोलनको घोषणा

काठमाडौं। मिटरब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपालले आगामी साउन २६ गतेदेखि जनकपुरदेखि काठमाडौंसम्म पैदल 'न्याय मार्च' गर्ने घोषणा गरेको छ।

संगठनको केन्द्रीय सचिवालयको हालै सम्पन्न बैठकका निर्णयहरू सार्वजनिक गर्न आज प्रवक्ता रिजन राना मगर 'आदित्य' द्वारा जारी प्रेस विज्ञप्ति मार्फत उक्त आन्दोलनका कार्यक्रमहरूको घोषणा गरिएको हो। यसअघि असार १६ गते शनिबारका दिन रौतहटको चपुरमा संगठनका अध्यक्ष अवधेश कुशवाहाको अध्यक्षतामा केन्द्रीय कार्यालयको आयोजन तथा जिल्ला समिति रौतहटको व्यवस्थापनमा महत्वपूर्ण बैठक सम्पन्न भएको थियो।

उक्त बैठकमा संयुक्त जनअधिकार मोर्चाका अध्यक्ष, भगिनी आन्दोलनका कार्यालय सदस्यहरू, संगठनका महासचिव लगायत सचिवालय सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

सचिवालय बैठकले नेपाल सरकारको हालैको १०० दिन सम्मको अवधिमा सरकारले मिटरब्याज अपराध र यसबाट सिर्जित समस्या समाधान गर्नका लागि के-कस्तो पहल कदमी चाल्छ भनी धैर्यतापूर्वक प्रतीक्षा गर्ने निर्णय गरेको छ।

सरकारले तोकिएको सो अवधिभित्र पीडितहरूको पक्षमा कुनै ठोस कदम नचालेको खण्डमा देशव्यापी आन्दोलन सञ्चालन गर्ने चेतावनी संगठनले दिएको छ। सोही आन्दोलनको पहिलो कार्यतालिका अनुसार आगामी २०८३ साउन २६ गते मधेस प्रदेशको राजधानी जनकपुरस्थित तिरहुतिया गाछीबाट पैदल यात्रा सुरु भई संघीय राजधानी काठमाडौँसम्म न्याय मार्च अगाडि बढाइनेछ।

मधेसदेखि काठमाडौंसम्म पैदल यात्रा मार्फत न्यायिक संघर्षलाई अगाडि बढाउँदै मिटरब्याजी अपराध विरुद्ध बलियो दबाब सृजना गर्ने संगठनको तयारी छ। यसरी शान्तिपूर्ण रूपमा गरिने न्याय मार्च मार्फत पनि सरकारको ध्यानाकर्षण नभएको खण्डमा आगामी दिनमा थप सशक्त खालका सडक संघर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ।

छुटाउनुभयो कि ?