‘मोडल हन्ट नेपाल २०२६’ को अन्तिम स्पर्धाका लागि ४२ प्रतियोगी छानिए, फाइनल साउन ८ गते

‘मोडल हन्ट नेपाल २०२६’ को अन्तिम स्पर्धाका लागि ४२ प्रतियोगी छानिए, फाइनल साउन ८ गते

काठमाडाैं। नेपालकै बृहत् र स्तरीय मानिएको मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’ को फाइनलका लागि ४२ जना प्रतियोगीहरू छानिएका छन्।

आयोजक नेक्स्ट मोडल्स नेपालका अनुसार देशका विभिन्न स्थानमा सञ्चालन गरिएको छनौट चरणको अडिसनहरूबाट २६ महिला र १६ पुरुष गरेर कुल ४२ जना प्रतियोगीहरू अन्तिम स्पर्धाका लागि चुनिएका हुन्।

यो प्रतियोगिताको १० औँ सिजन हो। यस वर्षको सिजनका लागि मुख्य प्रायोजकका रूपमा 'नोथिङ स्मार्ट फोन' जोडिएकाले प्रतियोगितालाई ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना गर्न लागिएको नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

अन्तिम स्पर्धाका लागि छनोट भएका यी प्रतियोगीहरू अब एक महिना लामो विशेष प्रशिक्षणसहित फाइनलको तयारीमा लाग्नेछन्। सो प्रशिक्षण अवधिमा उनीहरूलाई व्यक्तित्व विकास, शारीरिक बनावट सन्तुलन, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट र एक्सप्रेसन जस्ता मोडलिङका विविध महत्त्वपूर्ण विधामा ग्रुमिङ कक्षाहरू प्रदान गरिनेछ।

विगत १० वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताप्रति पछिल्लो समय युवायुवतीहरूको आकर्षण निकै बढ्दो क्रममा रहेको छ।

उचित व्यावसायिक ज्ञानसहित देश तथा विदेशका स्थापित प्लेटफर्महरूमा सजिलै अवसर पाउन सक्ने मोडलहरू उत्पादन गर्ने मुख्य उद्देश्य यस प्रतियोगिताले राखेको छ। प्रतियोगिताले मोडलिङ क्षेत्रमा भविष्य बनाउन चाहने नवप्रतिभाहरूका लागि एउटा सही मार्ग र अवसर सिर्जना गर्ने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाको विश्वास छ।

उनका अनुसार यस सिजनको शीर्ष विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नुका साथै आगामी सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’ मा नेपालको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्ने सुवर्ण अवसर पाउनेछन्। प्रतियोगिताको भव्य फाइनल आगामी २४ जुलाई अर्थात् साउन ८ गते आयोजना हुने तय भएको छ।

छुटाउनुभयो कि ?