काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबिच सिंहदरबारमा उच्चस्तरीय भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि एसियाली विकास बैंकले पुर्याउँदै आएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई विशेष धन्यवाद ज्ञापन गरे। साथै, उनले नेपालको बदलिँदो विकासका प्राथमिकताहरूलाई सम्बोधन गर्न आगामी दिनमा पनि एडीबीको सहयोग र साझेदारीलाई थप निरन्तरता दिन आग्रह गरे।
अर्थमन्त्री डा. वाग्लेसँगको छलफलमा एडीबीका अध्यक्ष कान्डाले नेपालको समग्र विकास र आर्थिक समृद्धिमा सहकार्य गर्नु आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए। उनले नेपालमा सञ्चालित आयोजनाहरूको प्रभावकारी कार्यान्वयन र नयाँ सम्भावनाहरूमा बैंकले थप लगानी बढाउन इच्छुक रहेको प्रतिबद्धता समेत व्यक्त गरे।