विमानस्थल अध्यागमनका कर्मचारीलाई ढाका टोपी अनिवार्य, राष्ट्रिय पहिचान झल्काउन गृहमन्त्रीको निर्देशन

विमानस्थल अध्यागमनका कर्मचारीलाई ढाका टोपी अनिवार्य, राष्ट्रिय पहिचान झल्काउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूका लागि अब ढाका टोपी अनिवार्य गरिएको छ।

गृहमन्त्री सुधन गुरूङले शुक्रबार अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण तथा अनुगमन गर्ने क्रममा त्यहाँ कार्यरत कर्मचारीहरूलाई अनिवार्य रूपमा नेपाली ढाका टोपी लगाउन निर्देशन दिएका हुन्। विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी अनुज भण्डारीले गृहमन्त्रीको सो निर्देशनबारे पुष्टि गरेका छन्।

नेपाल भित्रिने विदेशी पर्यटकहरूले सबैभन्दा पहिले अध्यागमनकै सामना गर्नुपर्ने भएकाले त्यहाँका कर्मचारीको पोसाक र व्यवहारले देशको छवि निर्माण गर्ने सूचना अधिकारी भण्डारीले बताए। नेपाली मौलिकता र राष्ट्रिय पहिचानलाई विश्वसामु झल्काउनका लागि यो कदम चालिएको उनको भनाइ छ।

मन्त्री गुरूङको निर्देशनलगत्तै शनिबारदेखि नै केही कर्मचारीले टोपी लगाउन सुरु गरिसकेका थिए भने आइतबारसम्म आइपुग्दा कार्यालयका लगभग सबै कर्मचारीहरू नेपाली टोपी सजिएर सेवामा खटिन थालेका छन्।

छुटाउनुभयो कि ?