तीन प्रदेशमा भारी वर्षा र तराईका केही क्षेत्रमा हावाहुरीको चेतावनी

तीन प्रदेशमा भारी वर्षा र तराईका केही क्षेत्रमा हावाहुरीको चेतावनी

काठमाडौं। हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपासमा अवस्थित रहेको छ।

यसकै प्रभावका कारण हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ।

त्यस्तै कोशी प्रदेशको हिमाली भूभाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली भएको छ। अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, कोशी प्रदेशको थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने देखिन्छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि आकाश सामान्यतया बादलले ढाकिनेछ भने कोशी, मधेश र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ।

दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

दिउँसोको समयमा मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर साधारणतया बदलीकै अवस्था रहने अनुमान गरिएको छ। रातिको समयमा देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा वर्षा हुनेछ । त्यस्तै मधेश र कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ।

विशेष गरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा रातिको समयमा भारी वर्षाको समेत सम्भावना रहेकाले नदीतटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानहरूमा विशेष सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

छुटाउनुभयो कि ?