काठमाडौं। कीर्तिपुरस्थित सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित एपीएफ स्कुलमा करोडौँ रुपैयाँ आर्थिक अनियमितता गरेको आरोपमा प्रहरीले एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्कुलकी लेखा अधिकृत (इन्स्पेक्टर) कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामा रहेका छन्। स्रोतका अनुसार लामा इन्स्पेक्टर गुरुङका प्रेमी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरिएको हो। विद्यालयको खातामा जम्मा हुनुपर्ने रकम आफ्नाे व्यक्तिगत खातामा राखेर करोडौँ रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ।
यस आर्थिक हिनामिनाको मुख्य योजनाकार लेखा प्रमुख गुरुङ नै रहेको बताइएको छ। उनी विगत ६ वर्षदेखि उक्त स्कुलमा लेखापालको रूपमा कार्यरत थिइन्।
स्कुलमा आर्थिक अनियमितता भएको आशंकापछि सशस्त्र प्रहरीले डीआईजी युवराज अर्यालको संयोजकत्वमा एउटा छानबिन समिति गठन गरेको थियो। उक्त समितिको अनुसन्धानका क्रममा दुवै जना दोषी देखिएपछि सशस्त्र प्रहरीले कानुनी कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा मुद्दाको प्रक्रिया अघि बढाएको छ।