काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रूपमा कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानकै आसपासमा अवस्थित रहेको छ।
यसै प्रभावका कारण हाल देशभर साधारणतया बादल लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ भने कोशी, मधेस र बागमती प्रदेशका तराईमा आंशिकदेखि साधारणतया बादल लाग्ने देखिन्छ।
यसैगरी हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान, कोशी र बागमती प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेष गरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि मौसममा खासै ठूलो फेरबदल आउने छैन। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने सम्भावना छ।
यस्तै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोशी प्रदेशको तराई क्षेत्र तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम हुनसक्ने भन्दै महाशाखाले आम सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।