बैतडी। बैतडीको पाटन नगरपालिका–८ गैराखानमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३९६३ नम्बरको बस दिउँसो साढे ३ बजे सडकबाट अनियन्त्रित भई झन्डै १०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटना लगतै नेपाल प्रहरी र स्थानीय बासिन्दा मिलेर घाइतेहरूको उद्धार गरेका थिए। उद्धार गरिएका सबै घाइतेहरूलाई तत्कालै उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवन तिमिल्सेनाका अनुसार दुर्घटनामा परेका घाइतेमध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको छ। अस्पताल पठाइएका घाइतेहरूको पहिचान खुलाउने प्रयास भइरहेको र बस दुर्घटना हुनुको मुख्य कारण भने अझै खुल्न नसकेकाले यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।