काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न केन्द्रिकृत सोच बदलेर स्थानीय आवश्यकता र यथार्थका आधारमा नीति निर्माण गरिनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ विषयक ग्रिन टेबल कार्यक्रममा बोल्दै उनले भूगोल र क्षेत्र अनुसार शिक्षाका समस्या र चुनौती फरक–फरक रहेको स्पष्ट पारे। काठमाडौँ र दुर्गम जिल्लाको शैक्षिक अवस्थालाई एउटै चस्माले हेर्न नहुने भन्दै उनले नीतिगत तहमा बस्नेहरूले भुइँतहको वास्तविकता बुझ्न जरुरी रहेको बताए।
काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद समेत रहेका थापाले चुनावका क्रममा आफूले शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाएको स्मरण गर्दै सर्लाही क्षेत्र नम्बर ४ को अनुभव पनि साझा गरे। सर्लाहीमा मत माग्ने क्रममा आफूले विज्ञान र गणित शिक्षाको गुणस्तर सुधारबारे निरन्तर कुरा गरे पनि त्यहाँ त्यसले अपेक्षित रूपमा जनचासो पाउन नसकेको उनले उल्लेख गरे। काठमाडौँ र सर्लाहीका शैक्षिक चुनौती आकाश–जमिनको फरक रहेको भन्दै उनले एउटै देश भए पनि ठाउँ अनुसारका समस्यालाई सम्बोधन गर्ने गरी फरक रणनीति आवश्यक पर्ने औंल्याए।
महामन्त्री थापाले विद्यालय तहको शिक्षामा भइरहेको राजनीतिक हस्तक्षेपप्रति कडा आपत्ति जनाए। उनले शिक्षा क्षेत्रको मुख्य समस्या राजनीति नभई 'दलीयकरण' भएको जिकिर गरे।
विद्यालय व्यवस्थापन समिति गठन, प्रधानाध्यापकको नियुक्ति तथा विद्यालयको दैनिक सञ्चालनमा दलगत प्रभाव हाबी हुँदा समग्र शिक्षा प्रणाली नै धराशयी बनेको उनको भनाइ थियो। व्यवस्थापन समिति र प्रधानाध्यापक पदमा आफ्नै दल वा गुटका मान्छे राख्ने सोचले विद्यालयहरू बर्बाद भएको उल्लेख गर्दै थापाले अब 'हाम्रो मान्छे' भन्दा पनि 'राम्रो र योग्य मान्छे' रोज्ने मानसिकता विकास गर्नुपर्नेमा जोड दिए।
शिक्षकहरूको भूमिकाका विषयमा बोल्दै उनले शिक्षकहरूलाई विद्यालयभित्र आफ्नो जिम्मेवारी पूर्ण इमानदारीका साथ निर्वाह गर्न आग्रह गरे। शिक्षकले कक्षाकोठाभित्र गर्ने न्याय र मिहिनेत नै समाज र लोकतन्त्रका लागि सबैभन्दा ठूलो योगदान हुने उनको धारणा थियो। साथै, शिक्षकहरूले आफ्नो पेसागत भूमिकाभन्दा माथि उठेर समाजमा रचनात्मक नेतृत्व प्रदर्शन गर्न सके त्यसले समग्र देश र नेपाली कांग्रेस पार्टी दुवैलाई दीर्घकालीन लाभ पुग्ने थापाले बताए।
राजनीतिक दलहरूले शिक्षाको बृहत्तर उद्देश्यबारे गम्भीर बहस गर्न ढिला भइसकेको भन्दै थापाले शिक्षा किन र कसका लागि भन्ने विषयमा दलहरू स्वयं स्पष्ट हुनुपर्ने धारणा राखे। यो नीतिगत स्पष्टता ल्याउने जिम्मेवारी राजनीतिक दलहरूकै भएकाले यसबाट कोही पनि भाग्न नमिल्ने उनको भनाइ थियो। उक्त विचार–विमर्श कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद् डा. विष्णु कार्की, तथा टिच फर नेपालकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्विस्तिका श्रेष्ठबीच शिक्षा सुधारका विविध आयाम र व्यावहारिक उपायबारे सामूहिक प्यानल छलफल समेत भएको थियो।