वडा अधिवेशनमा अलमल नभई सहभागी हुन कांग्रेस सभापति गगन थापाको आह्वान

वडा अधिवेशनमा अलमल नभई सहभागी हुन कांग्रेस सभापति गगन थापाको आह्वान

काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगन थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै पनि द्विविधा वा अलमलमा नपरी उत्साहका साथ सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूसँग आग्रह गरेका छन्। मङ्गलवार साँझ एक लिखित वक्तव्य जारी गर्दै सभापति थापाले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनको प्रारम्भिक चरणका रूपमा रहेको वडा अधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गरेका हुन्।

महाधिवेशन नेपालको संविधान, पार्टी विधान र प्रचलित कानुनबमोजिम हुन लागेको स्पष्ट पार्दै थापाले पार्टीभित्रको आन्तरिक मतभेद र फरक विचारलाई संवाद, विधि र पद्धतिबाट समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गरे। पार्टीलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रका चुनौतीको सामना गर्न सक्ने बलियो कांग्रेस निर्माणका लागि महाधिवेशन नै उत्तम विकल्प भएको उनको भनाइ छ।

वक्तव्यमार्फत थापाले भदौ २८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनपूर्वका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गराउने निर्णय गरिसकेकाले सबै नेता-कार्यकर्ता केन्द्रीय सदस्यकै हैसियतमा यो प्रक्रियामा सहभागी हुने वातावरण बनेको जानकारी दिए।

यस्तै, २०८२ पौषसम्म नवीकरण भएका सबै क्रियाशील सदस्यहरूलाई अधिवेशनमा सहभागी गराउने निर्णयअनुसार सदस्यता व्यवस्थापन समितिले नामावली टुङ्गो लगाइसकेको र केन्द्रीय निर्वाचन समितिले जिल्ला-जिल्लामा निर्वाचन अधिकृतहरू खटाइसिकएको उनले स्पष्ट पारेका छन्। असोज ३ गते वडाबाट सुरु हुने महाधिवेशनको महाअभियानलाई खुल्ला मञ्चमा हुने केन्द्रीय महाधिवेशनसम्म सौहार्दपूर्ण र हार्दिक वातावरणमा सम्पन्न गराउन उनले सबै तहका कार्यकर्ता, पदाधिकारी र समर्थकहरूमाझ अपील गरेका छन्।