प्रधानमन्त्री राहत कोषमा रास्वपा सांसदहरूको थप सहयोग: जनही न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने

प्रधानमन्त्री राहत कोषमा रास्वपा सांसदहरूको थप सहयोग: जनही न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा जनही न्यूनतम १५ हजार रुपैयाँका दरले थप आर्थिक योगदान गर्ने भएका छन्।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलका पदाधिकारीहरूबीच भएको अनौपचारिक छलफलपछि सांसदहरूका तर्फबाट व्यक्तिगत रूपमा समेत थप रकम सहयोग गर्ने प्रस्ताव अघि बढाइएको हो।

यसअघि नै रास्वपाले पार्टीका तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ। सो रकममा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा हुने मासिक लेवीसमेत समावेश गरिएको मुख्य सचेतक बुर्लाकोटीले जानकारी दिए।

पार्टीको निर्णयका अतिरिक्त सांसदहरूले व्यक्तिगत रूपमा समेत कोषमा रकम जम्मा गर्ने स्वघोषणा गरेका छन्। रास्वपाका सांसदहरूबाट न्यूनतम १५ हजार रुपैयाँका दरले रकम सङ्कलन गर्दा करिब २७ लाख १५ हजार रुपैयाँ थप जम्मा हुने जनाइएको छ।

मुख्य सचेतक बुर्लाकोटीका अनुसार सांसदहरूले न्यूनतम १५ हजार वा सोभन्दा बढी इच्छाधीन रकमसमेत योगदान गर्न सक्ने गरी यो निर्णय कार्यान्वयनमा ल्याइँदै छ।