थमन विक हत्या प्रकरण: पूर्वसांसद लक्ष्मी महतो कोइरी कैद भुक्तानका लागि जलेश्वर कारागार चलान

थमन विक हत्या प्रकरण: पूर्वसांसद लक्ष्मी महतो कोइरी कैद भुक्तानका लागि जलेश्वर कारागार चलान

महोत्तरी। सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामबाट दोषी ठहर भई कैद सजाय तोकिएका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई जलेश्वर कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ परेका कोइरीलाई अदालतमा उपस्थित गराएपछि जिल्ला अदालत जलेश्वरले कैद भुक्तानका लागि कारागार पठाउने आदेश दिएको हो। महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले कोइरीलाई अदालतको आदेश लगत्तै कारागार पठाइएको जानकारी दिए।

उच्च अदालत जनकपुरधामले गुडिरहेको सोही मुद्दामा जिल्ला अदालतको अघिल्लो फैसला उल्ट्याउँदै कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। अदालतको उक्त फैसलापछि फरार रहेका कोइरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार साँझ करिब ६ बजे पक्राउ गरेको थियो।

गौशाला नगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा तथा प्रतिनिधिसभाका पूर्वसदस्य कोइरीलाई प्रहरीले गौशाला नगरपालिका वडा नम्बर ५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट नियन्त्रणमा लिएको हो।

यो मामला वि.सं. २०७२ सालको मधेस आन्दोलनसँग जोडिएको छ। आन्दोलनका क्रममा जलेश्वरमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका असई थमन विकमाथि प्रदर्शनकारीहरूले गम्भीर कुटपिट गरी हत्या गरेका थिए।

सोही क्रूर घटनामा संलग्न रहेको अभियोगमा लामो कानुनी प्रक्रियापछि उच्च अदालतले कोइरीलाई कडा सजाय सुनाएको हो, जसअनुसार अहिले उनलाई कानुनी दायरामा ल्याई कारागार पठाइएको छ।

छुटाउनुभयो कि ?