काठमाडाैं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्। आफ्नो सरकारी निवास परिसरमा हेलमेट नलगाई बुलेट बाइक चलाउँदै गरेको भिडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाह चौतर्फी आलोचनाको घेरामा परेका थिए।
उक्त भिडियो मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक अकाउन्टमार्फत सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो। पछिल्लो समय स्वास्थ्य समस्याका कारण दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री शाह साँझको समयमा मोटरसाइकल चलाएको दृश्य बाहिरिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी र आलोचना बढेको थियो।
यसै विषयलाई लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितको प्रहरी टोली मुख्यमन्त्री शाहको सरकारी निवासमै पुगेको थियो। प्रहरीले मुख्यमन्त्री शाहलाई ट्राफिक नियमअनुसार 'हेल्मेट नलगाई सवारी चलाएको' कसुरमा कारबाही गर्दै ५०० रूपैयाँ जरिवाना गरेको छ।
आफ्नो गल्ती स्वीकार गर्दै मुख्यमन्त्री शाहले यस कारबाहीलाई सकारात्मक रूपमा लिएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै शाहले ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्दै नियमअनुसार कारबाही गर्न आफूले नै प्रहरीलाई आग्रह गरेको बताएका छन्।
कानुनको सर्वोच्चतालाई जोड दिँदै उनले भने, "म ट्राफिक प्रहरीलाई धन्यवाद दिन्छु। कानुन सबैका लागि समान हुनुपर्छ। ठूला व्यक्तिलाई कानुन नलाग्ने भन्ने हुँदैन। कानुनले गरेको व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्छ।"
मुख्यमन्त्री शाहले पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै पनि प्रकारको भेदभाव हुन नहुने धारणा राख्दै सम्पूर्ण नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन्।