असई थमन विक हत्या प्रकरण: एमाले नेता लक्ष्मी महतो कोइरीलाई उच्च अदालतद्वारा ५ वर्ष कैद सजाय

असई थमन विक हत्या प्रकरण: एमाले नेता लक्ष्मी महतो कोइरीलाई उच्च अदालतद्वारा ५ वर्ष कैद सजाय

जनकपुरधाम। सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट यसअघि सफाइ पाएका नेकपा (एमाले) का नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी) लाई उच्च अदालत जनकपुरले दोषी ठहर गरेको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महतोलाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजायको फैसला सुनाएको हो।

यसअघि वि.सं. २०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले महतोलाई सफाइ दिने फैसला सुनाएको थियो। तर, जिल्ला अदालतको उक्त फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सांसद अभिराम शर्माको पक्षसहितले उच्च अदालतमा पुनरावेदन दायर गरेका थिए। सोही पुनरावेदनमाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत महोत्तरीको अघिल्लो फैसलालाई बदर गरिदिएको हो।

वि.सं. २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा कर्तव्य ज्यान मुद्दा जोडिएको असई थमन विकको विभत्स हत्या भएको थियो। उक्त घटनामा आरोपित रहेका महतोले जिल्ला अदालतबाट सफाइ पाएपछि यो मुद्दा कानुनी र राजनीतिक वृत्तमा निकै चर्चामा रहँदै आएको थियो। उच्च अदालतको यो नयाँ र उल्टो फैसलासँगै एमाले नेता कोइरी कानुनी रूपमा दोषी ठहर भई कारागार सजायको भागीदार बनेका छन्।

छुटाउनुभयो कि ?