मनसुन सक्रिय भएसँगै देशभर उच्च सतर्कता, उद्धारका लागि सेना र सशस्त्र प्रहरीको विशेष तयारी

मनसुन सक्रिय भएसँगै देशभर उच्च सतर्कता, उद्धारका लागि सेना र सशस्त्र प्रहरीको विशेष तयारी

काठमाडाैं। देशभर मनसुनी प्रणाली थप सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम निकै बढेको छ। बुधबार र बिहीबार मौसम अझ प्रतिकूल रहने मौसम पूर्वानुमान विभागको चेतावनीपछि सरकारले विपद् व्यवस्थापन र प्रतिकार्यका लागि सबै सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रहरूलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखेको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुन सशक्त बनेकाले जोखिमयुक्त क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यका लागि सुरक्षाकर्मीहरू चौबिसै घण्टा तैनाथ अवस्थामा रहेका छन्।

यसै क्रममा सशस्त्र प्रहरी बल (एपीएफ) ले विपद्को अवस्थामा तत्काल उद्धार टोली परिचालन गर्न देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। एपीएफका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार मुलुकका १६ वटा अति जोखिमयुक्त क्षेत्रमा जनशक्ति र आवश्यक आधुनिक स्रोत–साधनसहितका स्थायी बेसहरू पनि तयारी अवस्थामा राखिएका छन्।

विपद्सम्बन्धी सूचना संकलन र उद्धार कार्यलाई थप प्रभावकारी तथा प्रविधिमैत्री बनाउन एपीएफले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप तथा १११४ हटलाइन सेवा समेत सञ्चालनमा ल्याएको छ, जसका माध्यमबाट सूचना प्राप्त हुनासाथ नजिकको उद्धार टोली तत्काल घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको छ।

विपद्को यो घडीमा नेपाली सेनाले पनि मनसुनजन्य जोखिम व्यवस्थापनका लागि तीन चरणको विशेष कार्ययोजना लागू गरेको जनाएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा योजना अद्यावधिक र संयुक्त अभ्यास, दोस्रो चरणमा स्रोत–साधनसहित पूर्वतैनाथी तथा तेस्रो चरणमा उद्धार, राहत र पुनरावलोकनलाई प्राथमिकता दिइएको छ।

सेनाले तत्काल हवाई उद्धारका लागि इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टर तयारी अवस्थामा राखेको छ भने सडक अवरोध हटाउन धादिङ, चितवन र बारामा बेली ब्रिज पनि ‘स्ट्यान्डबाइ’ राखेको छ। साथै, आपत्कालीन स्वास्थ्य सेवाका लागि मेडिकल किटसहितका फिल्ड अस्पतालहरू पनि तयारी अवस्थामा राखिएको छ।

अर्कातर्फ, प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनमा विगतको तुलनामा जनशक्ति र प्रविधिको प्रयोगमा सुधार भए पनि नेपालको जटिल भौगोलिक अवस्थाका कारण चुनौतीहरू अझै कायम रहेको उल्लेख गर्नुभएको छ। उहाँले विपद्को सामना गर्न स्थानीय तहलाई थप स्रोत–साधन सम्पन्न बनाउन, राजमार्गका जोखिमयुक्त ‘ब्ल्याक स्पट’ हरूको बेलैमा सुधार गर्न तथा पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुभएको छ।

हालको प्रतिकूल मौसमलाई मध्यनजर गर्दै सुरक्षा निकायहरूले सर्वसाधारणलाई मौसम पूर्वानुमान नियमित रूपमा पछ्याउन, जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा विपद् सम्बन्धी कुनै पनि घटना भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेका छन्।

छुटाउनुभयो कि ?