आज दिउँसो र राति देशभर पूर्ण बदली, गण्डकी र बागमतीसहित चार प्रदेशमा भारी वर्षाको योग

आज दिउँसो र राति देशभर पूर्ण बदली, गण्डकी र बागमतीसहित चार प्रदेशमा भारी वर्षाको योग

काठमाडौं। हाल नेपालको कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका अन्य बाँकी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्ममा मनसुन विस्तार हुने सम्भावना रहेको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर पूर्णतया बादल लाग्ने मौसमविद्हरूले जनाएका छन्। यस क्रममा देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिन्छ।

विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षासँगै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ।

आज राति पनि देशभर पूर्णतया बादल लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

देशको पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना कायमै रहनेछ। रातिको समयमा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

छुटाउनुभयो कि ?