विनाअनुशासन खेलकुद सम्भव छैन, सिंगो ब्रह्माण्ड नै अनुशासनमा बाँधिएको छ: एमाले अध्यक्ष ओली

विनाअनुशासन खेलकुद सम्भव छैन, सिंगो ब्रह्माण्ड नै अनुशासनमा बाँधिएको छ: एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनविना खेलकुदको परिकल्पना समेत गर्न नसकिने बताएका छन्।

नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले खेल भावनालाई अझ फराकिलो बनाउन र सम्पूर्ण खेलाडीहरूलाई सदैव कडा अनुशासनमा बाँधिन विशेष आग्रह गरे।

खेलाडीहरू स्वभावैले अनुशासित हुने उल्लेख गर्दै उनले अनुशासनको पालना नभए खेलकुदको मर्म नै समाप्त हुने र खेल पूरै बिग्रिने धारणा राखे। खेलकुद र मानव जीवनमा अनुशासनको महत्वबारे चर्चा गर्ने क्रममा उनले यो सम्पूर्ण प्रकृति र सिंगो ब्रह्माण्ड नै एउटा निश्चित अनुशासनको नियममा चलिरहेको रोचक उदाहरण प्रस्तुत गरे।

अध्यक्ष ओलीले ब्रह्माण्डका धर्ती, सूर्य र अन्य ग्रहहरू सबै अनुशासनकै घेराभित्र रहेकाले नै संसार चलिरहेको दाबी गरे। पृथ्वीको गति र चक्रबारे थप प्रस्ट्याउँदै उनले पृथ्वी पूर्ण रूपमा अनुशासित भएकै कारण भरे बेलुका कति बजे घाम अस्ताउनुपर्छ र बिहान कति बजे उदाउनुपर्छ भन्ने कुरा पहिले नै निश्चित हुने बताए।

पृथ्वीले आफ्नो निश्चित कक्ष र अक्षमा कति गतिमा घुम्नुपर्छ भन्ने कुरा राम्रोसँग जानेको र सोही नियम पालना गरिरहेको उनको भनाइ थियो। यसै गरी, उनले मानव जीवनलाई निरोगी, सन्तुलित र ऊर्जावान् बनाइराख्नका लागि प्रत्येक व्यक्तिको शारीरिक अवस्था र उमेर अनुकूलका खेलकुद गतिविधिहरू निकै महत्वपूर्ण हुने कुरामा समेत जोड दिएका छन्।

छुटाउनुभयो कि ?