सक्रिय मनसुनको कहर: ६ वटा प्रदेशका पहाड र तराईमा मेघगर्जनसहित धेरै भारी वर्षाको प्रक्षेपण

सक्रिय मनसुनको कहर: ६ वटा प्रदेशका पहाड र तराईमा मेघगर्जनसहित धेरै भारी वर्षाको प्रक्षेपण

काठमाडौं। नेपालमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भएसँगै देशभर मौसममा व्यापक बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम र केही क्षेत्रमा भारी वर्षा भइरहेको छ।

देशका अन्य बाँकी भूभागहरूमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावसँगै सामान्य बदलीको अवस्था रहेको छ।

आज दिउँसोदेखि देशभर मनसुनी गतिविधि अझै बढ्ने मौसमविद्हरूले अनुमान गरेका छन्। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई दुवै भूभागका थोरै स्थानहरूमा गम्भीर मौसमी अवस्था सिर्जना हुन सक्छ, जहाँ मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

पश्चिमका पहाडी क्षेत्र र पूर्वका तराईका जिल्लाहरूमा लगातारको झरीका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ।

यस वर्ष मनसुन सुरु भएदेखि नै देशका विभिन्न भागमा बाढी र पहिरोले क्षति पुर्‍याइरहेका बेला आगामी केही घण्टा अझै जोखिमपूर्ण हुने देखिएको छ। लगातारको भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, गेग्रान बहाव र ठूला तथा साना पहिरोको उच्च जोखिम रहेको छ।

त्यस्तै, तराई र सहरी क्षेत्रहरूमा उचित निकासको अभावका कारण डुबानको खतरा बढेको छ। वर्षाका कारण देशका प्रमुख नदीहरू कोशी, नारायणी, कर्णाली र महाकालीसहित तिनीहरूका सहायक नदी, मध्यपहाडी क्षेत्रका साना खोला तथा खोल्साहरूमा पानीको सतह खतराको संकेतभन्दा माथि पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

छुटाउनुभयो कि ?