देशभरका साना नदीहरूमा पानीको बहाव बढ्दो, ३४ भन्दा बढी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

देशभरका साना नदीहरूमा पानीको बहाव बढ्दो, ३४ भन्दा बढी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौँ । देशभरका साना तथा सहायक नदीहरूमा पानीको बहाव लगातार बढ्दै गएपछि आजदेखि आगामी दुई दिनसम्म आकस्मिक बाढीको मध्यम जोखिम रहने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले देशका ३४ भन्दा बढी जिल्लाका साना खोला तथा नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई विशेष सतर्कता अपनाउन जोडदार आग्रह गरेको छ।

महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

त्यसैगरी कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, अछाम तथा आसपासका जिल्ला भई बहने साना खोला र नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बाढी र बहावको यो जोखिम आज मात्र सीमित रहने छैन। भोलि र पर्सि पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश साना नदीहरूमा पानीको सतह आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा पनि सोही अवधिमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

यद्यपि हाल देशका प्रमुख ठुला नदीहरूको अवस्था भने सामान्य र सुरक्षित रहेको महाशाखाले स्पष्ट पारेको छ। आज बिहान गरिएको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।

त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित सीमाभित्रै बगिरहेको महाशाखाको भनाइ छ। मनसुनी वर्षा निरन्तर भइरहेकाले साना खोला तथा नदी आसपास बसोबास गर्ने नागरिक, सडक प्रयोगकर्ता तथा स्थानीय तहहरूलाई हरदम सजग रहन र आवश्यक पूर्वतयारी अपनाउन महाशाखाले विशेष अपिल गरेको छ।

छुटाउनुभयो कि ?