काठमाडौँ। मुलुकमा मनसुनी वायु क्रमशः सक्रिय हुँदै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज साँझ एक विशेष मौसम बुलेटिन जारी गर्दै आगामी असार १६ र १७ गते देशका अधिकांश भू-भागमा मुसलधारे वर्षा हुने प्रक्षेपण गरेको छ।
बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएको छ। यसले गर्दा मनसुन देशका बाँकी क्षेत्रमा समेत तीव्र रूपमा फैलिने सम्भावना रहेको महाशाखाले जनाएको छ।
६ प्रदेशमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। साथै, यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी (मुसलधारे) वर्षासमेत हुन सक्ने मौसमविद्हरूको अनुमान छ। देशका पहाडी तथा तराई क्षेत्रका धेरैजसो स्थान र हिमाली क्षेत्रका केही भू-भागमा भने मध्यम वर्षाको सम्भावना रहेको छ।
सम्भावित जोखिम र सतर्कताको अपिल
भारी वर्षाका कारण प्राकृतिक विपद्को जोखिम बढेको भन्दै महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई सचेत गराएको छ। पहाडी क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको खतरा रहने र सहरी तथा तराई क्षेत्रमा डुबानको समस्या आउन सक्ने बुलेटिनमा उल्लेख छ। ठूला तथा साना नदीखोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
जनजीवन र यातायात प्रभावित हुन सक्ने
लगातारको वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, र पर्यटन क्षेत्रमा असर पार्ने अनुमान गरिएको छ। यसका साथै, नदी आसपास भइरहेका निर्माण कार्य, सडक यातायात र हवाई उडानसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र उच्च सतर्कता अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ।