काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री स्वयंले सदनमै उपस्थित भएर पुनः स्पष्ट पार्नुपर्ने जोडदार माग गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई आफ्नो धारणा राख्ने समय दिएका थिए।
बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले प्रधानमन्त्रीले संसद्मा उपस्थित भई स्पष्ट पार्नुपर्ने संवेदनशील विषयहरूलाई छलेर आफ्नै पार्टीको महाधिवेशनको मञ्चमा प्रस्तुत हुनुले सार्वभौम सदनको गरिमा घटाएको आरोप लगाइन्।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद डा. पुष्पराज कँडेलले पनि सीमाजस्तो गम्भीर राष्ट्रिय मुद्दामा प्रधानमन्त्री संसद्मै उपस्थित हुनुपर्नेमा जोड दिँदै आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरे। त्यसका साथै, उनले नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको आरोप लगाउँदै सरकारको उक्त कदमप्रति कडा आपत्ति जनाए।
बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारका सम्पूर्ण प्रयासहरू संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्नेतर्फ परिलक्षित हुनुपर्नेमा जोड दिए। उनले प्रदेशसभा खारेज गरी संघीयताको पुनःसंरचना गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रस्तावप्रति आफ्नो पार्टीको पूर्ण विमति रहेको समेत स्पष्ट पारे।
त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियता र देशको भूगोलसँग जोडिएका संवेदनशील विषयहरूमा प्रधानमन्त्रीले बाहिर गैरजिम्मेवार टिप्पणी गर्नुभन्दा सदनमा उपस्थित भएर जनताका प्रतिनिधिहरूका सामु स्पष्ट पार्नुपर्ने माग गरे।