मदन जयन्तीको मञ्चमा ओली-प्रचण्ड: निर्वाचनको धक्का र सरकारी दबाबले कम्युनिष्ट नेताहरूलाई फेरि एकठाउँमा ल्यायो

मदन जयन्तीको मञ्चमा ओली-प्रचण्ड: निर्वाचनको धक्का र सरकारी दबाबले कम्युनिष्ट नेताहरूलाई फेरि एकठाउँमा ल्यायो

काठमाडाैं। नेपाली राजनीतिमा फेरि एउटा नयाँ तरंग पैदा भएको छ, जहाँ लामो समयदेखि फरक-फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू अब एउटै मञ्चमा उभिने भएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भोगेको अनपेक्षित हारले दबाबमा परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी राजनीतिक यात्रा सँगै तय गर्ने मनस्थितिमा पुगेका छन्।

‘जेन-जी’ आन्दोलनपछि पहिलो पटक यी दुई शीर्ष नेताहरू आज आइतबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा एउटै मञ्चमा देखिने तयारी भइरहेको छ। पछिल्लो समय एमाले र नेकपाबीच संवाद निकै बाक्लो बनेको छ।

शुक्रबार मात्रै विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा संयोजक दाहालले मुलुकमा कम्युनिष्ट शक्तिहरूबीच पुनः एकता र सहकार्यको प्रक्रिया अघि बढिरहेको खुलाएका थिए।

सदन, सडक र स्थानीय तहमा एमालेसँग सहकार्य हुने दाबी गर्दै उनले आफ्नो तर्फबाट अन्तिम क्रमभंग हुने संकेतसमेत गरेका छन्। दाहाल श्रीलंका र सहसंयोजक माधवकुमार नेपाल रुस भ्रमणमा निस्कनुअघि वामपन्थी सहकार्यको यो बहसले नयाँ उचाइ लिएको हो।

वामपन्थी एकताको यस बहसमा नेकपा नेता वामदेव गौतमले पनि असार ५ गते आयोजित एक कार्यक्रममा आगामी निर्वाचन कम्युनिष्ट पार्टीकै नेतृत्वमा हुने र सबैलाई मिलाएर एउटै पार्टी बनाइने दाबी गर्दै बलियो साथ दिएका छन्।

उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि विगतको इगो बिर्सेर पूर्वाग्रहबिना नेकपालगायत अन्य कम्युनिष्ट दलहरूसँग सहकार्य गर्न तयार देखिएका छन्। गतसाता बसेको एमाले केन्द्रीय पदाधिकारी बैठकमा अध्यक्ष ओलीले सरकार एमालेविरुद्ध प्रतिशोधपूर्ण रूपमा उत्रिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए।

पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका नाममा पक्राउ गरिएको घटना, सुकुम्बासी विस्थापन र ट्रेड युनियन खारेजी जस्ता सरकारका निर्णयविरुद्ध लड्न वाम एकता अनिवार्य रहेको उनको निष्कर्ष छ। हाल प्रतिनिधिसभामा एमालेको २५ र नेकपाको १७ सिट मात्र छ। निर्वाचन परिणामले कमजोर बनाइदिएपछि दुवै दलका नेताहरू संसद् र सडकबाट सरकारलाई दबाब दिन एकठाउँमा उभिन बाध्य भएका हुन्।

एमालेका दोस्रो तहका नेताहरू महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र उपमहासचिव लेखराज भट्ट तथा नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनबीच पनि प्रदेश सरकारमा सँगै जाने र राष्ट्रियताका मुद्दामा साझा धारणा बनाउने विषयमा घनीभूत छलफल भइरहेको छ। राष्ट्रियता, सरकारका गलत कामविरुद्ध संसद्मा आवाज उठाउने र संविधानलाई कमजोर बनाउने गतिविधिविरुद्ध एमाले र नेकपा एकठाउँमा उभिने उपमहासचिव भट्टले प्रष्ट पारेका छन्।

कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्ती नेताहरूलाई नजिक ल्याउने महत्त्वपूर्ण कडी बनेको छ। मदन भण्डारी फाउन्डेसनको आयोजनामा आज राष्ट्रिय सभागृहमा हुने नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोहमा वामपन्थी नेताहरूको जमघट हुँदै छ ।

२०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको देहान्त भएपछि उनको वैचारिक मार्गनिर्देशनलाई लिएर विभिन्न कार्यक्रम हुँदै आएका छन्। आज हुने उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहाल मात्र नभई नेकपाका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यस विचार गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। उनी फेरि सक्रिय राजनीतिमा फर्कने कसरतमा रहेको बेला यो मञ्चलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनसँगै नेपालको कम्युनिष्ट आन्दोलनलाई नराम्रो धक्का लागेको थियो। उक्त आन्दोलनपछि पूर्व–प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले घोषणा गरेको निर्वाचनमा जाने विषयमा ओली र दाहालबीच गम्भीर मतभेद थियो।

दाहालले निर्वाचनलाई खुलेर समर्थन गरेका थिए भने ओलीले जेन-जी आन्दोलनलाई गम्भीर षड्यन्त्रको संज्ञा दिँदै निर्वाचनप्रति असन्तुष्टि जनाएका थिए। त्यही मतभेदका कारण लामो समयदेखि टाढिएका यी दोस्रो र तेस्रो शक्तिका रूपमा रहेका नेताहरू २०८२ फागुनको निर्वाचनमा आइपुग्दा निकै कमजोर अवस्थामा खुम्चिएपछि भने संविधानका मूल मर्ममै टेकेर संविधान संशोधनको पक्षमा एकै ठाउँमा उभिन सहमत भएका छन्।

नेपालको कम्युनिष्ट आन्दोलन टुट, फुट र विभाजनको शृंखलाबाट गुज्रिँदै आएको इतिहास छ। २०७४ सालमा ओली र दाहालबीचको सहकार्यले झण्डै दुईतिहाइ बहुमत ल्याएपछि २०७५ जेठ ३ गते दुई पार्टी मिलेर बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि आन्तरिक सत्ता संघर्ष र नेतृत्वको टकरावका कारण पूरा कार्यकाल टिक्न सकेन ।

पार्टी सचिवालयमा ओली अल्पमतमा परेपछि उहाँले संसद् विघटन गर्नुभएको थियो भने पछि कांग्रेस, माओवादी र माधव नेपाल समूहबीच बनेको मोर्चा र २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलासँगै छिन्नभिन्न भएको वाम जनमत अझै तंग्रिन सकेको छैन।

नेकपाले चुनाव हार्नुको मुख्य कारण वामपन्थी मत विभाजन हुनुलाई मानेको छ र चैतमा भएको संयोजक समितिको बैठकमा प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा प्रतिवेदनले एक्लाएक्लै चुनाव लडेका नौवटा कम्युनिष्ट पार्टीले प्राप्त गरेको ४० लाखभन्दा बढी समानुपातिक मत छरिएकाले वाम शक्ति एकताबद्ध भएको भए अझै राम्रो परिणाम आउन सक्ने निष्कर्ष निकालेको थियो  गत कात्तिकमा माओवादी र एकीकृत समाजवादीबीच एकता भएर नेकपा बने पनि संगठन समायोजनको काम अझै पूरा नभएकाले संगठन समायोजन सकिएलगत्तै एमालेसँगको सहकार्यलाई औपचारिक रूप दिने नेकपाको तयारी छ ।

स्थानीय तहका कार्यकर्ताहरूबाट समेत वामपन्थी दलहरू मिल्नुपर्ने चर्को दबाब आएपछि शीर्ष नेताहरू विगतको इगो त्यागेर आत्मसमीक्षासहित अघि बढ्न बाध्य भएका हुन् । नेकपाका नेता देवेन्द्र पौडेलका अनुसार अब पनि वामपन्थी पार्टीहरू नमिले अरू कुनै विकल्प छैन र तल्लो तहका कार्यकर्तामा मिल्नैपर्ने एकमत देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार जब-जब राजनीतिक संकट निम्तिन्छ वा आफूलाई अप्ठ्यारो पर्छ, तब ओली र दाहाल नजिकिने गरेका छन् र शक्ति आर्जन गरेपछि अलग हुने इतिहास रहे पनि अहिले निर्वाचनपछि आएको संकट र आगामी वर्ष हुने स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै दुवै दलले सहकार्यको बाटो रोजेका हुन्।

छुटाउनुभयो कि ?