राप्रपा महाधिवेशन तोकिएकै समयमा हुन्छ, घेराबन्दीबाट अत्तालिँदैनौँ: राजेन्द्र लिङ्देन

राप्रपा महाधिवेशन तोकिएकै समयमा हुन्छ, घेराबन्दीबाट अत्तालिँदैनौँ: राजेन्द्र लिङ्देन

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आगामी केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै आयोजना हुने स्पष्ट पारेका छन्।

काठमाडौं जिल्लास्तरीय अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले महाधिवेशन तोकिएकै मितिमा हुने र यसमा कुनै पनि हालतमा परिवर्तन नहुने दृढता व्यक्त गरे। उनले महाधिवेशनको पूर्वतयारी स्वरूप हुनुपर्ने स्थानीय तहका अधिवेशनहरूमा सक्रियताका साथ सहभागी हुन सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले हालैका दिनमा पार्टी छाडेर जाने नेताहरूको विषयमा धेरै टिप्पणी गर्न आवश्यक नरहेको बताए। राप्रपाको इतिहास र यसका उतारचढावहरूलाई नजिकबाट भोगेको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिलाई आफूले स्वाभाविक रूपमा लिएको धारणा राखे।

विगतमा ज्यान नै जोखिममा परेर बाँचेको स्मरण गर्दै उनले आफ्नो वर्तमान जीवनलाई 'नाफाको जीवन' को संज्ञा दिए र संगठनभित्र सिर्जना भएका सानातिना चुनौतीबाट आफू कति पनि विचलित नहुने प्रष्ट पारे।

अध्यक्ष लिङ्देनले राप्रपा जस्तो राष्ट्रवादी शक्तिलाई कमजोर पार्न र समाप्त पार्न विभिन्न देशी–विदेशी शक्तिहरूले चौतर्फी घेराबन्दी गरिरहेको आरोप लगाए।

इतिहासमा संकटका बेला मैदान छाडेर भाग्ने वा लुक्नेहरू कहिल्यै बहादुर नभएको चर्चा गर्दै उनले पार्टी अप्ठ्यारो स्थितिमा रहेका बेला मैदान छोड्नेहरूप्रति आफ्नो कुनै गुनासो नरहेको बताए। जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी दृढताका साथ अघि बढ्ने उनको दाबी थियो।

छुटाउनुभयो कि ?