काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट प्राप्त ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा व्यवस्थापन गरिएको सन्देश टेबुल गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा सभाका सचिव तुलबहादुर कंडेलले उक्त विधेयकसँग सम्बन्धित सन्देश सदनसमक्ष टेबुल गरेका हुन्।
बजेट पारित गर्ने संसदीय प्रक्रियाअन्तर्गत प्रतिनिधिसभाबाट पारित भई आएको विनियोजन विधेयकलाई अब राष्ट्रियसभामा छलफलको कार्यसूचीमा अगाडि बढाइनेछ।
यसैगरी शुक्रबारको बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वमन्त्री राजेन्द्र खरेलको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठकले दिवंगत खरेलको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। शोक प्रस्ताव पारित गरेसँगै राष्ट्रियसभाको अर्को बैठक आगामी असार १५ गते बस्ने गरी स्थगित भएको छ।