तीनवटा वायुको त्रिकोणात्मक प्रभाव: पूर्वमा मनसुनको वर्षा, पश्चिममा बढ्दो तापक्रम

तीनवटा वायुको त्रिकोणात्मक प्रभाव: पूर्वमा मनसुनको वर्षा, पश्चिममा बढ्दो तापक्रम

काठमाडाैं। नेपालको पूर्वी र मध्य भागमा मनसुनी वायुको प्रभाव क्रमशः फैलिँदै गएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय रहेको छ भने देशका बाँकी पश्चिमी भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

अहिले देशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ भने तराईका भूभागमा आंशिक बदलीको अवस्था छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्यतया बदली रहने सम्भावना छ। मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली हुँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनुका साथै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराई क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

मौसमको यो विविधताका बीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराईमा समेत तापक्रम बढ्ने देखिएको छ।

आज रातिको मौसम पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशीको तराई र मधेस प्रदेशमा सामान्यतया बदलीकै अवस्थामा रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा भने मौसम सामान्यतया सफा रहने देखिन्छ।

रात्रिकालीन समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ। कोशीको तराई र मधेस प्रदेशका केही स्थानमा पनि राति वर्षाको सम्भावना कायमै रहनेछ।

मौसममा देखिएको यो उतारचढावका कारण महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका तराईका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।

साथै, वर्षा, चट्याङ र हिमपातको जोखिम रहेका क्षेत्रका नागरिकलाई पनि सजग रहन भन्दै महाशाखाले मौसमसम्बन्धी पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा हेर्न अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?