देशभर १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात, थप खोप चाँडै आउने

देशभर १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात, थप खोप चाँडै आउने

 

काठमाडौँ,।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल देशभर करिब १० हजार भायल एन्टि-रेबिज खोप मौज्दात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय अस्पतालहरूमा गरी कुल १० हजार ११ भायल खोप सुरक्षित अवस्थामा छ।

खोपको सम्भावित अभाव हुन नदिन विश्व स्वास्थ्य संगठन को सहयोगमा २ हजार ५०० भायल खोप प्राप्त भइसकेको र थप ४ हजार ५०० भायल खोप केही दिनभित्रै आइपुग्ने सुनिश्चित भइसकेको मन्त्रालयले जनाएको छ।

टेकु अस्पतालमा ४० दिनलाई पुग्ने मौज्दात

सबैभन्दा बढी चाप हुने काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा मात्रै अहिले करिब ४० दिनलाई पुग्ने खोप मौज्दात छ। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया सम्पन्न हुनासाथ खोपको आपूर्ति प्रणाली पूर्ण रूपमा सहज र नियमित हुने डा. अधिकारीले बताए।

स्थानीय तहलाई समन्वय गर्न आग्रह

मन्त्रालयले देशभर रेबिज रोकथाम तथा उपचार सेवालाई निरन्तरता दिन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिरहेको छ। साथै, स्थानीय तहहरूलाई पनि कुकुर तथा अन्य जनावरको टोकाइबाट हुने जोखिम व्यवस्थापन गर्न र खोप सेवालाई सहजीकरण गर्न मन्त्रालयले अनुरोध गरेको छ। उपलब्ध खोपको व्यवस्थित वितरण र व्यवस्थापनका लागि मन्त्रालयले लगातार काम गरिरहेको उनले जानकारी दिए।