काभ्रेपलाञ्चोक।– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बनेको विपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी पुनर्निर्माणको कामले तीव्रता पाएको छ। पछिल्ला केही महिनादेखि मर्मत कार्यलाई तीव्र बनाइएकाले अबको केही दिनमै पुनर्निर्मित नयाँ ट्रयाकबाटै सवारी आवागमन गराउने तयारी भइरहेको छ।
पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने यो छोटो दूरीको राजमार्गको क्षतिग्रस्त क्षेत्रका अधिकांश स्थानमा ग्राभेल हाल्ने तथा केही स्थानमा वर्षाका ठूला ढुङ्गा (बोल्डर) राखेर सडक तयार गर्ने काम भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
आगामी वर्षायामलाई मध्यनजर गर्दै पुरानै सडकको एलाइनमेन्टमा खोलिएको ट्रयाकबाट असार दोस्रो साता अर्थात् असार १५ गतेदेखि नै गाडी गुड्ने गरी काम भइरहेको कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिएका छन्।
हाल चारवटा स्थानमा माथिबाटै गाडी चलाउन सकिने अवस्था बनिसकेकाले तत्कालै बाढी आइहाले पनि यातायात ठप्प नहुने स्थिति छ। यसअघि बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाडी चलाइँदै आएको थियो, जसलाई सामान्य वर्षा हुँदा पनि खोलाको बाढीले बगाएर सडक पटकपटक अवरुद्ध हुने गरेको थियो।
विसं २०८१ असोजको विनाशकारी बाढीपहिरोले यस राजमार्ग अन्तर्गत भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडक खण्डमा व्यापक क्षति पु¥याएको थियो।
अहिले वर्षायाम सुरु हुनुअघि खोलाको सतहभन्दा सात मिटर उचाइसम्म सडक उठाएर ग्राभेल राख्ने काम भइरहेको छ भने वर्षा रोकिएपछि खोलाबाट करिब १० मिटर उचाइसम्म सडक उठाएर कालोपत्रे गरिने योजना छ। कतिपय ठाउँमा आरसिसी वालको फाउण्डेसन पूरा भइसकेको छ।
नयाँ ट्रयाक खोलिएका ठाउँमा ग्राभेल हालेर असार १५ बाटै गाडी सुचारु गरिने र आगामी आर्थिक वर्षमा कालोपत्रको काम थालिने कार्यालयको भनाइ छ। क्षतिग्रस्त कूल २९ दशमलव पाँच किलोमिटर सडकमध्ये चारसयबेँसी, बोक्सीकुना, कालढुङ्गा र डालाबेँसीको खण्ड तयार भइसकेकाले अब डाइभर्सनमा समस्या आए पनि गाडी रोकिने अवस्था छैन।
बाँकी रहेको एक खण्ड अर्थात् बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक पुनर्निर्माणको काम भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले गरिरहेको छ। जाइकाले माटो भरेर ठूला ढुङ्गा राख्ने काम गरिरहेकाले यस खण्डमा पनि वर्षाका बेला खोलाबाटै सवारी चलाउनुपर्ने बाध्यता हट्नेछ।
राजमार्गको कामलाई व्यवस्थित बनाउन काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो। सम्भावित जोखिम र निर्माण कार्यलाई मध्यनजर गर्दै हाल पनि साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
अबको स्थायी पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने रणनीति लिइएको छ। पुनर्निर्माण हुने सडक खण्ड दुई लेनको हुनेछ भने यस क्षेत्रभित्र रहेका पाँचवटा पुलहरूको छेउमा अर्को पुल थपेर तिनलाई समेत दुई लेनमा परिणत गरिनेछ।
निर्माण कार्यका लागि डालाबेँसीदेखि चारसयबेँसीसम्मको आठ दशमलव पाँच किलोमिटर सडक खानी–एवन–कमलजीत जेभीले भ्याटसहित एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा ठेक्का पाएको छ। त्यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किलोमिटर खण्ड लामा–नवकान्तिपुर जेभीले एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा र नेपालथोकदेखि बर्खेखोलासम्मको चार दशमलव ९० किलोमिटर खण्ड खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले भ्याटसहित ६१ करोड रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता भएको छ।
जाइकाले निर्माण गरिरहेको खण्डका लागि जापान सरकारले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको छ। सरकारले क्षतिग्रस्त यो सम्पूर्ण खण्ड पुनर्निर्माणका लागि कुल आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ, जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन खण्डलाई सात अर्ब ५० करोड र सिन्धुलीको एक खण्डलाई एक अर्ब रुपैयाँ छुट्याइएको छ।
ऐतिहासिक रूपमा जापान सरकारकै अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷०५४ बाट धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो विपी राजमार्ग निर्माण सुरु गरिएको थियो। विभिन्न खण्डमा विभाजन गरी निर्माण सम्पन्न गरिएको यो सुन्दर राजमार्ग विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।