काठमाडाैं। नेकपा एमालेले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक रणनीतिका विषयमा छलफल गर्न संसदीय दल र केन्द्रीय सचिवालयको महत्त्वपूर्ण बैठक बोलाएको छ।
पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा पक्राउ परेपछि सिर्जित नयाँ राजनीतिक परिस्थितिलाई लिएर एमालेले आकस्मिक रूपमा यी बैठकहरू आह्वान गरेको हो।
घोषित तालिका अनुसार एमाले संसदीय दलको बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। यसैगरी, साँझ ६ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुण्डुस्थित निजी निवासमा पार्टीको केन्द्रीय सचिवालय बैठक बस्नेछ।
यी दुवै बैठकहरूमा उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि उत्पन्न जटिल परिस्थिति, संसद्मा खेलिने भूमिका र एमालेको आगामी रणनीतिक कदमबारे गम्भीर समीक्षा तथा ठोस निर्णय लिइने बुझिएको छ।