रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन: प्रतिनिधि कार्ड व्यवस्थापनमा ढिलाइ हुँदा बन्दसत्र स्थगित

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन: प्रतिनिधि कार्ड व्यवस्थापनमा ढिलाइ हुँदा बन्दसत्र स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आजका लागि तय गरिएको बन्दसत्रको कार्यक्रम स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिहरूको व्यवस्थापनमा प्राविधिक जटिलता उत्पन्न भएपछि पार्टीले बन्दसत्रको तालिका परिवर्तन गरेको हो।

पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले मङ्गलवार एक सूचना जारी गर्दै बन्दसत्र स्थगित हुनुको कारणबारे जानकारी गराएको छ। विभिन्न प्रदेशहरूबाट प्राप्त भएका महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा उनीहरूका लागि डिजिटल प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा निकै बढी समय लागेका कारण पूर्वनिर्धारित समयमा बन्दसत्र सुरु गर्न नसकिएको उपसमितिले जनाएको छ।

संशोधित तालिका अनुसार, तयार भइसकेका प्रतिनिधि कार्डहरू आजै साँझ ७ बजेदेखि वितरण गर्न सुरु गरिनेछ भने बाँकी रहेका कार्डहरू भोलि बिहान ७ बजेदेखि उपलब्ध गराइनेछ। उपसमितिका अनुसार सम्पूर्ण प्रतिनिधिहरूले कार्ड प्राप्त गरिसकेपछि मात्र बन्दसत्रको औपचारिक प्राविधिक प्रक्रिया र कार्यक्रमहरू अगाडि बढाइनेछ।

पार्टीले महाधिवेशनलाई आफ्नो संगठनको सर्वोच्च र ऐतिहासिक निकायका रूपमा लिएकाले प्रतिनिधि व्यवस्थापनको संवेदनशील प्रक्रियामा कुनै पनि किसिमको त्रुटि वा विवाद नआओस् भन्नका लागि यो निर्णय लिनुपरेको स्पष्ट पारेको छ।

प्राविधिक ढिलाइबाट महाधिवेशन प्रतिनिधि, पार्टीका आम सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति रास्वपाले क्षमायाचना गर्दै महाधिवेशन अवधिभर धैर्यता, संयमता र रचनात्मक सहयोगका लागि सबैलाई आग्रह गरेको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?