रास्वपालाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सुझाव: ‘रवि ठूलो कि बालेन ठूलो भन्ने बहसमा नअल्झिनुस्, तपाईंहरूको एकतामै पार्टीको भविष्य सुरक्षित छ’

रास्वपालाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सुझाव: ‘रवि ठूलो कि बालेन ठूलो भन्ने बहसमा नअल्झिनुस्, तपाईंहरूको एकतामै पार्टीको भविष्य सुरक्षित छ’

चितवन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपालको वैकल्पिक राजनीतिको अगुवा शक्तिका रूपमा चित्रण गर्दै सुशासन र समृद्धिको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्।

रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनलाई चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले छोटो अवधिमै जनताको ठूलो विश्वास जितेर रास्वपाले उल्लेखनीय राजनीतिक उपलब्धि हासिल गरेको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे। आफूले करिब एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीतिको आवश्यकता औँल्याउँदै निरन्तर पैरवी गर्दै आएको स्मरण गर्दै भट्टराईले सोही अभियानको सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धिका रूपमा रास्वपाको उदय भएको व्याख्या गरे।

रास्वपा र यसको नेतृत्वप्रति आफ्नो सकारात्मक एवं सहयोगी धारणा सार्वजनिक हुँदा राजनीतिक वृत्तमा विभिन्न टिप्पणीहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै भट्टराईले आफू कुनै व्यक्तिगत स्वार्थ वा पदको आकांक्षाले प्रेरित नभएको स्पष्ट पारे।

उनले आफू जीवनको उत्तरार्धमा पुगिसकेको र विगतमा टाउकोको मूल्य तोकिएको कठिन समय भोग्नुका साथै देशको प्रधानमन्त्री समेत भइसकेकाले अब यो उमेरमा आफूलाई कुनै पद वा स्वार्थको ‘ललीपप’ आवश्यक नरहेको प्रष्टोक्ति दिए। मुलुकको सर्वाङ्गीण विकासका लागि राजनीतिक स्थिरता अनिवार्य शर्त भएको उल्लेख गर्दै उनले कम्तीमा आगामी एक दशकसम्म देशमा स्थिर राजनीतिक वातावरण कायम हुनुपर्ने र नयाँ राजनीतिक शक्तिहरूले जनतामा जगाएको आशालाई मर्न नदिन जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए।

रास्वपाभित्र दुई प्रमुख नेताहरूको भूमिका र नेतृत्वलाई लिएर बाहिर हुने गरेका विभिन्न चर्चा तथा अड्कलबाजीप्रति संकेत गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले पार्टीको भविष्य नेतृत्वबीचको सुदृढ एकता र आन्तरिक सहकार्यमा मात्र निर्भर रहने बताए। उनले पार्टीभित्र रवि लामिछाने ठूलो कि बालेन शाह ठूलो भन्ने जस्ता खुद्रा बहस हुन सक्ने भए पनि यस्ता विषयमा नअल्झिई आपसमा मिलेर अघि बढ्न नेतृत्वलाई सुझाव दिए।

पार्टीभित्रको आन्तरिक सहकार्य र बलियो एकताले नै आगामी पाँच वर्षको राजनीतिक यात्रा र रास्वपाको भविष्य निर्धारण गर्ने उनको भनाइ थियो। रास्वपाले आम नागरिकले सुशासन र समृद्धिको प्रतिफल प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी स्पष्ट कार्ययोजना कार्यान्वयन गर्नुपर्ने बताउँदै भट्टराईले जनताको यो अभूतपूर्व विश्वासलाई संस्थागत गर्न सके नेपाली राजनीतिमा यसले दीर्घकालीन र ऐतिहासिक प्रभाव छोड्ने विश्वास व्यक्त गरे।

छुटाउनुभयो कि ?