ललितपुर| राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा शनिबार अपरान्ह अवलोकन गरेका छन्। ललितपुरको जावलाखेलमा आयोजित विशेष समारोहमा प्रथम महिला सबिता पौडेलसहित सरिक भई उनले सो जात्राको अवलोकन गरेका हुन्।
रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने परम्परा अनुसार गुठी संस्थानका कर्मचारीले सार्वजनिक रूपमा भोटो प्रदर्शन गरेका थिए। जात्रा अवलोकनका क्रममा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको पूजा-आराधना गर्नुका साथै जीवित देवी कुमारीको समेत दर्शन गरे।
सांस्कृतिक, धार्मिक र ऐतिहासिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने रातो मच्छिन्द्रनाथलाई नेपाली समाजमा अन्नदाता, पानी पार्ने तथा अनिष्ट र अनिकाललाई सामना गर्ने संकटमोचक देवताका रूपमा पुज्ने गरिन्छ।
जावलाखेलमा सम्पन्न उक्त ऐतिहासिक भोटो देखाउने गरिमामय कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनोज शर्मा र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत देशका उच्च पदस्थ अधिकारीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।







