चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक असार ११ सम्म स्थगित

चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक असार ११ सम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाले चार वटा अध्यादेश स्वीकृत गरेको छ। शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेशलाई स्वीकृति दिएपछि अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो।

सभामुख डोलप्रसाद अर्याल ले बैठक स्थगनको घोषणा गरेका थिए। सरकारले संघीय संसद्को चालु अधिवेशन सुरु हुनुअघि आठ वटा अध्यादेश जारी गरेको थियो। ती अध्यादेशहरू गत वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश गरिएका थिए। तीमध्ये शुक्रबार प्रतिनिधिसभाले चार अध्यादेशलाई स्वीकृति प्रदान गरेको हो।

स्वीकृत भएका अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्।

यसअघि सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश लगायत अन्य अध्यादेशहरू जारी गरेको थियो।

प्रतिनिधिसभाबाट स्वीकृति प्राप्त भएसँगै अब यी चार अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्मा दर्ता र पारित गर्ने प्रक्रिया अघि बढ्ने भएको छ। अध्यादेशमार्फत लागू गरिएका व्यवस्थालाई स्थायी कानुनी आधार दिन सरकारले प्रतिस्थापन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिनिधिसभाको अर्को बैठकमा बाँकी अध्यादेश, विभिन्न विधेयक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चार अध्यादेशको स्वीकृतिसँगै सरकारले अघि सारेका केही कानुनी तथा संस्थागत सुधारका कार्यक्रमलाई गति मिलेको छ।

छुटाउनुभयो कि ?