पार्टी संगठन सुदृढ गर्न ‘विशाल आईटी फौज’ निर्माण गर्ने प्रचण्डको घोषणा, सरकारको नीतिप्रति असन्तुष्टि

पार्टी संगठन सुदृढ गर्न ‘विशाल आईटी फौज’ निर्माण गर्ने प्रचण्डको घोषणा, सरकारको नीतिप्रति असन्तुष्टि

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउन डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको बताए ।

उनले आफ्नो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको र सदन, सडक तथा सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा रहेको उल्लेख गर्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन एउटा विशाल आईटी आर्मी नै चाहिएको स्पष्ट पारे । लाखौं जनतालाई गोलबद्ध गरेर त्यस्तो फौज तयार पार्ने काम कम्युनिष्ट र देशलाई माया गर्ने पक्षधरहरूले मात्र गर्न सक्ने उनको दाबी थियो ।

कार्यक्रमका क्रममा उनले डिजिटल क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको भन्दै चुनावी खर्चसँग तुलना गरेर असन्तुष्टि समेत व्यक्त गरे । चुनावका बेला एउटै निर्वाचन क्षेत्रमा करोडौं रुपैयाँ खर्च हुने गरे पनि आईटी क्षेत्रमा एक-दुई करोड खर्च गर्न समेत गाह्रो मानिएको भन्दै उनले गुनासो गरे ।

यदि चुनावमा हुने खर्चको आधा रकम मात्रै पनि आईटी क्षेत्रमा लगाएको भए परिणाम फरक आउन सक्ने उनको भनाइ थियो । उनले डिजिटल माध्यमबाट जनसंगठन विस्तार गर्दै पार्टीलाई जनताको पक्षमा अझ मजबुत बनाउने योजना रहेको सुनाए ।

यसैगरी, संयोजक प्रचण्डले वर्तमान सरकारको नीति तथा कार्यक्रमप्रति कडा आलोचना गर्दै वर्तमान सरकार गरिब, मजदुर र किसानको हितभन्दा बढी उच्च वर्गको हित रक्षा गर्नमा केन्द्रित भएको आरोप लगाए ।

सरकारका नीति, बजेट र अन्य निर्णयहरूले सरकार नेपालका गरिब दुःखीका विरुद्ध रहेको प्रष्ट पारेको उनको जिकिर थियो । उनले प्रतिक्रियावादीहरूलाई फाइदा पुग्ने गरी समाजमा निराशाको खेती नगर्न आग्रह गर्दै नयाँ सोच र जोसका साथ अघि बढ्न पार्टीका सम्पूर्ण सदस्यहरूलाई निर्देशनसमेत दिए ।

छुटाउनुभयो कि ?