पूर्वमा भारी वर्षा हुँदा पश्चिम र मध्य तराईमा 'तातो दिन' को कहर: भैरहवाको तापक्रम ४१ डिग्री नाघ्यो
काठमाडौं। नेपालका पूर्वी र पश्चिमी क्षेत्रमा मौसमको दुई फरक रूप देखिएको छ। देशका विभिन्न पूर्वी तथा पहाडी क्षेत्रमा भारी वर्षा जारी रहँदा पश्चिम र मध्य तराईका जिल्लाहरूमा भने तापक्रम ह्वात्तै बढेर जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा भारी वर्षा रेकर्ड गरिएको छ।
विभागको पछिल्लो तथ्याङ्कअनुसार गोरखामा ७१.८ मिलिमिटर, मोरङमा ६१.८ मिलिमिटर, सुनसरीमा ५१.४ मिलिमिटर र झापामा ७१.२ मिलिमिटर वर्षा भएको छ। यसअघि अघिल्लो दिन झापामा १०३ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो। पूर्वी र मध्य पहाडी क्षेत्रमा पानी परिरहेका बेला देशका अन्य भू–भागमा भने तापक्रम बढेर अत्यधिक गर्मी भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन्।
पछिल्लो अभिलेखअनुसार भैरहवाको तापक्रम सबैभन्दा बढी ४१.५ डिग्री सेल्सियस मापन गरिएको छ। यस्तै, नेपालगञ्जमा ४०.४ डिग्री र धनगढीमा ३८.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ। तराई मात्र नभई पहाडी क्षेत्रमा पनि गर्मी बढेको छ, जसअनुसार काठमाडौंको तापक्रम समेत वृद्धि भएर ३१.३ डिग्री सेल्सियस पुगेको छ। मौसमविद्हरूका अनुसार आज धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरामा अत्यधिक गर्मीसहित 'तातो दिन' (लू) हुने सम्भावना छ।
हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। विभागले जारी गरेको मौसम बुलेटिनअनुसार आज देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने कोशी र मधेस प्रदेशका तराई भू–भागमा आंशिक बदली रहनेछ। अर्कातर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
आगामी केही घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
साथै कोशी र मधेस प्रदेशको तराईका एकाध ठाउँमा पनि चट्याङसहित पानी पर्न सक्ने अनुमान छ। यद्यपि, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरैजसो स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तातो हावा चल्ने र 'तातो दिन' कायमै रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।