बहुमतको बलमा नियमावली पारित गरिएको भन्दै संसद्मा नेकपाका सांसद मल्लको आपत्ति

बहुमतको बलमा नियमावली पारित गरिएको भन्दै संसद्मा नेकपाका सांसद मल्लको आपत्ति

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले प्रतिनिधि सभा नियमावली बहुमतको बलमा बलपूर्वक पारित गरिएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मल्लले सरकारले संसद्मा प्रतिपक्षको आवाजलाई बेवास्ता गर्दै बलमिच्याइँ गरेको आरोप लगाए। उनले आफूहरू विगत करिब तीन सातादेखि सदनमा निरन्तर संघर्ष र आन्दोलनमा रहेको स्मरण गराउँदै जनताका मुद्दा र कानुनी सर्वोच्चताका लागि सम्पूर्ण प्रतिपक्षी बेन्च एकताबद्ध भएर उभिएको स्पष्ट पारे।

प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रिया सुरु भएदेखि नै आफूहरूले पटक–पटक प्रश्न उठाएको उल्लेख गर्दै उनले लोकतान्त्रिक आन्दोलन र महान् बलिदानबाट स्थापित लोकतन्त्र तथा नेपालको संविधानको मर्मविपरीत हुने कुनै पनि प्रावधान नियमावलीमा राख्न नहुने धारणा राखे।

संविधानसँग बाझिने र यसको मूल भावनाको चीरहरण हुने गरी नियमावलीमा कुनै पनि दफाहरू थपिन नदिन प्रतिपक्षले अन्तिम समयसम्म जोडदार रूपमा आवाज उठाएको भए पनि सत्तापक्षले त्यसलाई बहुमतको आधारमा जबर्जस्ती पास गराएको उनको भनाइ थियो।

सांसद मल्लले प्रतिपक्षको निरन्तर आन्दोलन र दबाबकै कारण प्रधानमन्त्री लामो समयपछि संसद् भवनमा उपस्थित हुन बाध्य भएको र समय लिएर रोस्ट्रमको प्रयोग गरेको उल्लेख गरे।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा प्रतिपक्षलाई प्रश्न सोध्न आग्रह गरेको प्रसंग जोड्दै उनले आफूहरूले निरन्तर रूपमा प्रतिनिधि सभा नियमावलीको सही पालना र संसदीय मर्यादाको रक्षाका लागि प्रधानमन्त्री र सभामुख दुवैको ध्यानाकर्षण गराउँदै आएको बताए। संसद्को सम्पूर्ण कार्यसञ्चालन प्रक्रिया सत्ताको शक्तिका आधारमा नभई संविधानको मर्म र स्थापित लोकतान्त्रिक अभ्यासअनुसार मात्र हुनुपर्नेमा उहाँले विशेष जोड दिए।

छुटाउनुभयो कि ?