प्रचण्डलाई झलनाथको सिधा प्रश्न: "तपाईं आफैंमा अहिले कुनै आकर्षण छैन, के म धुप हालेर बस्ने?"

प्रचण्डलाई झलनाथको सिधा प्रश्न: "तपाईं आफैंमा अहिले कुनै आकर्षण छैन, के म धुप हालेर बस्ने?"


नेकपामा नेता खनालको ‘राजनीतिक भूकम्प’: प्रचण्ड र माधव नेपाललाई नेतृत्व छाड्न प्रस्ताव, ३६ बुँदे असन्तुष्टि पत्र सार्वजनिक
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्ति सन्तुलन र वैचारिक मतभेद फेरि एकपटक गम्भीर मोडमा पुगेको छ।

पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालको वर्तमान नेतृत्व असक्षम भएको ठहर गर्दै तत्काल नेतृत्व हस्तान्तरण गर्न औपचारिक प्रस्ताव अघि सारेका छन्।

संयोजक दाहाललाई सम्बोधन गर्दै नेता खनालले बुझाएको ३६ बुँदे असन्तुष्टि पत्रले पार्टीभित्र नयाँ वैचारिक र संगठनात्मक बहस सिर्जना गरिदिएको छ। खनालले वर्तमान नेतृत्व पूर्ण रूपमा विचलित भएको र यसले पार्टीलाई आगामी महाधिवेशनसम्म लैजानै नसक्ने ठोकुवा गरेका छन्।

नेता खनालले आफ्नो असन्तुष्टि पत्रमा पार्टीको वैचारिक धरातलमाथि गम्भीर प्रश्न उठाएका छन्। पार्टीको अन्तरिम विधानलाई ‘सार-संग्रहवादी खिचडी विधान’को संज्ञा दिँदै उनले यसबाट क्रान्तिवादी कम्युनिष्ट पार्टीको निर्माण असम्भव रहेको दाबी गरेका छन्।

खनालका अनुसार अन्तरिम विधानमा वैचारिक स्पष्टता छैन। यसमा तत्कालीन नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज), प्रजातान्त्रिक समाजवाद, वर्तमान संविधानवाद, र संसदीय पुँजीवादी लोकतन्त्रका फरक-फरक तत्वहरूलाई जबर्जस्ती मिसाइएको छ। यो संमिश्रणले पार्टीलाई वैचारिक रूपमा असंगत र दिशाहीन दस्तावेजको बन्दी बनाएको टिप्पणी खनालको छ।

पार्टी एकता घोषणा भएको सात महिना बितिसक्दा पनि तल्लो तहसम्म संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेकोमा खनालले तीव्र असन्तुष्टि जनाएका छन्। हालैका निर्वाचनहरूमा पार्टीले बेहोर्नुपरेको परिणामलाई उनले ‘शर्मनाक पराजय’ को संज्ञा दिँदै बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको ठोस विश्लेषण गर्न नेतृत्व पूर्णतः असफल भएको आरोप लगाएका छन्।

नेतृत्वप्रति आक्रामक बन्दै खनालले "प्रचण्डजी, के म यो पार्टीमा धुप हालेर मात्र बस्ने?" भनी प्रश्न गरेका छन्। उनले पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनवादी प्रवृत्ति मौलाउँदै गएको र आम कार्यकर्ता तथा जनताको भरोसा शून्यमा झरेको उल्लेख गरेका छन्। संयोजक दाहाललाई सिधा प्रश्न गर्दै खनालले तपाईं आफैंमा पनि अहिले आकर्षण नभएको र नेतृत्वमा आशा एवं भरोसा एकदमै घटेको टिप्पणी गरेका छन्।

वर्तमान नेतृत्वकै कारण पार्टी निर्माणभन्दा पनि विघटनतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै नेता खनालले प्रचण्ड र माधव नेपाल दुवैलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। संकट समाधानका लागि उनले तत्काल संयोजन समितिको विशेष बैठक बोलाएर नयाँ, योग्य, र स्पष्ट वैचारिक दृष्टिकोण भएका नेतालाई संयोजक चयन गर्ने वातावरण बनाउन सुझाव दिएका छन्।

साथै, हालको पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी महाधिवेशनमार्फत लोकतान्त्रिक ढंगले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु गर्नुपर्ने उनको धारणा छ।

नेपाली कम्युनिष्ट आन्दोलनमा झलनाथ खनाल वैचारिक र नीतिगत बहस छेड्न रुचाउने नेताका रूपमा चिनिन्छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियामा राजकीय र साङ्गठनिक दुवै पदमा आफ्नो भूमिकालाई लिएर खनाल विगतदेखि नै असन्तुष्ट रहँदै आएको पृष्ठभूमि छ।

खनालले दाहाल स्वयंले स्वेच्छिक रूपमा नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेमा त्यो कम्युनिष्ट आन्दोलनका लागि एउटा ऐतिहासिक योगदान हुने र सकारात्मक उदाहरण स्थापित हुने उल्लेख गरेका छन्। उचित समयमा उचित निर्णय गर्न सके मात्र पार्टी र क्रान्तिलाई नयाँ मोड दिन सकिने र नेतृत्व परिवर्तनले नेकपामा नयाँ रक्तसञ्चार, उत्साह र पुनर्गठनको वातावरण सिर्जना गर्ने विश्वास खनालले व्यक्त गरेका छन्।

खनालको यो ३६ बुँदे कदमपछि नेकपाभित्रका अन्य शीर्ष नेताहरू र संस्थापन पक्षले यसलाई कसरी लिन्छन् र आगामी बैठकहरूमा यसले कस्तो रूप लिन्छ, त्यो भने हेर्न बाँकी नै छ।

 

 

 

छुटाउनुभयो कि ?