कुवेतका जेलमा रहेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग राप्रपाको माग

कुवेतका जेलमा रहेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग राप्रपाको माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य भएका नेपाली महिलाहरूको अवस्था चिन्ताजनक रहेको बताइन्।

उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली शर्मिला दर्जीलाई लामो प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै त्यहाँ अझै पनि धेरै नेपाली महिलाहरू दयनीय अवस्थामा रहेको उल्लेख गरिन्।

"नेपाल फर्कने क्रममा बोर्डिङ पास लिइसकेपछि पनि त्यहाँका तस्कर र सम्बन्धित निकायको मिलेमतोमा उनलाई रोकेर जेल पठाइएको थियो। मैले पुनः दूतावासमा सम्पर्क गरी कडा रूपमा कुरा उठाएपछि मात्र उनलाई रिहा गरियो र हिजो मात्र उनी स्वदेश आइपुगिन्," ओलीले भनिन्।

उद्धार गरिएकी महिलाको भनाइलाई उद्धृत गर्दै ओलीले कुवेतका जेलहरूमा अझै पनि सयौँ नेपाली महिलाहरू बन्दी जीवन बिताइरहेको र तीमध्ये कतिपयले मानसिक सन्तुलनसमेत गुमाइसकेको संसद्लाई जानकारी गराइन्। उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक पहल मार्फत उनीहरूको तत्काल उद्धार गर्न जोडदार माग गरेकी छन्।

छुटाउनुभयो कि ?