काठमाडाैं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
राहदानी छपाईको ठेक्का प्रक्रियामा व्यापक भ्रष्टाचार भएको आरोप लागेपछि आयोगले उनीमाथि अनुसन्धान तीव्र पारेको हो। यसै सिलसिलामा अख्तियारको टोलीले अर्याललाई मंगलबार बिहान नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो।
पक्राउ लगत्तै महानिर्देशक अर्याललाई टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय पुर्याइएको छ। अख्तियार स्रोतका अनुसार हाल उनीसँग कार्यालयमा ठेक्का सम्झौता र आर्थिक अनियमितताका विषयलाई केन्द्रमा राखेर कडा बयान लिने काम भइरहेको छ।
यसअघि नै अख्तियारले राहदानी विभागमा छापा मारेर ठेक्का प्रक्रियासँग सम्बन्धित आवश्यक सम्पूर्ण महत्वपूर्ण कागजातहरू आफ्नो नियन्त्रणमा लिइसकेको थियो। ती कागजातहरूको विस्तृत अध्ययन र छानबिन सकिएलगत्तै बदमासीको आशंकामा आयोगले अर्यालसँग सिधै बयान लिन सुरु गरेको हो।