स्वास्थ्य बिमा र विपन्न उपचारको बक्यौता भुक्तानी तीव्र: थप ९१ करोड १८ लाख निकासा प्रक्रियामा

स्वास्थ्य बिमा र विपन्न उपचारको बक्यौता भुक्तानी तीव्र: थप ९१ करोड १८ लाख निकासा प्रक्रियामा

काठमाडाैं। स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ वटा सेवा प्रदायक अस्पतालहरूलाई स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ।

नयाँ सरकार गठनसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको कार्यभार सम्हालेपछि स्वास्थ्य बिमा र विपन्न नागरिक औषधि उपचार कार्यक्रमको बाँकी दायित्व चुक्ता गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखिएको छ।

यसअघि मन्त्रालयले २०८३ जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ। त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ र जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ निकासा भइसकेको मन्त्रालयको तथ्याङ्क छ।

विगतका आर्थिक वर्षदेखि बाँकी रहँदै आएको स्वास्थ्य बिमा दाबी र विपन्न नागरिकको औषधि उपचार खर्च भुक्तानीलाई सरकारले उच्च प्राथमिकतामा राखेर आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको हो। सेवा प्रदायक संस्थाहरूको बक्यौता रकम क्रमिक रूपमा भुक्तानी गर्दै लैजाँदा स्वास्थ्य बिमा कार्यक्रमप्रति आम नागरिकको विश्वास बढ्ने र मुलुकको स्वास्थ्य सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास स्वास्थ्य बिमा बोर्डले लिएको छ।

छुटाउनुभयो कि ?