काठमाडौं। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयका विनियोजन शीर्षकहरूमाथिको छलफल पूरा भएको छ।
बैठकमा युवा, श्रम तथा रोजगार; उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि, वन तथा पर्यावरण; सूचना तथा सञ्चार; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; शिक्षा तथा खेलकुद; स्वास्थ्य तथा खाद्य स्वच्छता; भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका बजेट शीर्षकहरूमाथि गहन विमर्श भएको हो।
छलफलका क्रममा विभिन्न १२ जना सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने अन्य सांसदहरूले दलीय आधारमा विनियोजन विधेयकमाथिको बहसमा भाग लिनुभएको थियो। मन्त्रालयगत बजेटका शीर्षक र प्राथमिकतामाथि सांसदहरूले आ-आफ्नो धारणा राखेका थिए।
बैठकको अन्त्यमा सभामुख डोलप्रसाद अर्यालले भोलिको बैठकमा छलफल हुने मन्त्रालय तथा निकायहरूको कार्यसूचीबारे सदनलाई जानकारी गराए। जसअनुसार आगामी बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन; कानुन, न्याय तथा संसदीय मामिला; पूर्वाधार विकास; गृह; ऊर्जा, जलस्रोत तथा सिँचाइ; परराष्ट्र; अर्थ तथा रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ। प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते मङ्गलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।