काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आजको नेपाली समाजमा ‘पपुलिजम’ (लोकप्रियतावाद) र ‘एनार्किजम’ (अराजकतावाद) को प्रभाव जबर्जस्त रूपमा बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै यी दुवै प्रवृत्तिले समाजको वैचारिक विकास र भविष्यमुखी यात्रालाई सहयोग नगर्ने बताएका छन्। .
नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका नवनियुक्त प्रमुख निरज आचार्यको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पपुलिजम र एनार्किजम दुवैले समाजलाई तत्कालीन मुद्दाहरूमा मात्र अल्झाएर अन्ततः यथास्थितिमा राख्ने प्रयास गर्ने टिप्पणी गरे।
आजको समाजमा जे-जस्तो हावा चलिरहेको छ, त्यसैबाट मानिसहरू प्रभावित भइरहेको उल्लेख गर्दै उनले यी प्रवृत्तिहरूले विचारधारालाई निषेध गर्ने दाबी गरे।
महासचिव पोखरेलले पपुलिजम र एनार्किजमले तत्कालका साना र क्षणिक मुद्दाहरूमा आफूलाई केन्द्रित गर्ने र समाजलाई यथास्थितिमै राख्ने मान्यताको पैरवी गर्ने धारणा राखे।
उनले अगाडि थपे, ‘यी प्रवृत्तिहरू वास्तवमा यथास्थितिका पोषक हुन्। तर, उनीहरूले समाज र आम नागरिकलाई यति धेरै भ्रमित बनाउँछन् कि संसारका र देशका सबै समस्याको समाधान यिनै हुन् भन्ने जस्तो कृत्रिम छाप (इम्प्रेसन) छोड्न सफल हुन्छन्।’ वर्तमान राजनीतिक बहसमा 'पुराना दलहरूले केही गर्न सक्दैनन् र नयाँलाई मात्र मौका दिनुपर्छ' भनी निर्माण गर्न खोजिएको भाष्यप्रति टिप्पणी गर्दै उनले यस्तो प्रवृत्तिको आयु लामो नहुने सङ्केत गरे।
नयाँ भनिएका शक्तिहरू र तिनको उदयतर्फ सङ्केत गर्दै पोखरेलले वैकल्पिक राजनीति प्रविधिको जगमा मात्र निर्माण भएको र यो वैचारिक आधारविना दीर्घकालसम्म टिक्न नसक्ने स्पष्ट पारे।
प्रविधिको प्रयोगले मात्रै समाजको रूपान्तरण सम्भव नहुने भएकाले अब नेपाली समाज फेरि ठोस विचारधारातर्फ नै फर्किनुपर्ने र फर्काउनुपर्ने आवश्यकता उनले औँल्याए। वैचारिक बाटोमा समाजलाई हिँडाउन केही समय लाग्न सक्ने भए पनि समग्र मुलुकको हित र प्रगतिका लागि हिँड्नुपर्ने मूल बाटो त्यही नै भएको महासचिव पोखरेलको भनाइ थियो।