रास्वपा सांसद आशिका तामाङद्वारा नेपाल-भारत सीमामा पर्खाल वा काँडेतार लगाउन माग

रास्वपा सांसद आशिका तामाङद्वारा नेपाल-भारत सीमामा पर्खाल वा काँडेतार लगाउन माग

काठमाडाैं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल र भारतबीचको खुला सीमानालाई व्यवस्थित र सुरक्षित गर्न सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने जोडदार माग गरेकी छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद तामाङले देशको सार्वभौमिकता र सीमा सुरक्षाका विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन्। उनले सीमा सम्बन्धी विद्यमान समस्याहरूको दीर्घकालीन समाधानका लागि आवश्यक परे दुवै देशको आपसी सहमति र कूटनीतिक पहलमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउनुपर्ने प्रस्ताव समेत अघि सारेकी छन्।

सदनलाई सम्बोधन गर्ने क्रममा उनले सीमा जोडिएका क्षेत्रहरूमा भइरहेका गतिविधि र विवादहरूलाई सरकारले मसिनो गरी अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याइन्। सरकारले सीमासँग जोडिएका सम्पूर्ण विषयहरूको वास्तविक तथ्य र सत्यतथ्य छानबिन गरी अविलम्ब आवश्यक कूटनीतिक कदम चाल्नुपर्नेमा उनको विशेष जोड थियो।

सुस्तादेखि लिएर कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता भूभागका विषयहरू राष्ट्रिय सुरक्षा र अस्मितासँग जोडिएका अत्यन्तै संवेदनशील मुद्दा भएको स्पष्ट पार्दै सांसद तामाङले यी क्षेत्रको विवाद समाधान गर्न र नेपाली भूमि सुरक्षित राख्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

छुटाउनुभयो कि ?