विराटनगर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी व्यावहारिक रूपमा फुटिसकेको भन्दै कांग्रेसको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले वर्तमान नेतृत्वको कार्यशैलीका कारण कांग्रेस अत्यन्तै कमजोर अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरे। पार्टीभित्रको गुटबन्दी र कमजोरीलाई सङ्केत गर्दै उनले 'के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ?' भनी प्रश्न समेत गरे।
पार्टीमा वास्तविक सुधार ल्याउनका लागि नेतृत्वले पुराना र रुढिवादी सोचहरू त्याग्नुपर्ने र अरूलाई बदल्नुअघि पहिले आफूमा परिवर्तन ल्याउनुपर्नेमा उनले विशेष जोड दिए।
आफ्नो राजनीतिक विरासत जोडिएको ऐतिहासिक कोइराला निवास पुग्दाको भावुक क्षण स्मरण गर्दै डा. कोइरालाले आज त्यहाँ पुग्दा आफ्ना आँखाबाट आँसु आएको बताए। कांग्रेस आज पूर्ण रूपमा टुक्रिएको र यसलाई नियोजित रूपमा टुक्र्याइएको आरोप लगाउँदै उनले विगतमा अदालतले बनाएको विभाजनको रेखा नै गलत रहेको धारणा राखे।
पार्टीभित्र चुलिएको आन्तरिक कलहकै कारण गाउँगाउँमा कांग्रेसका प्रतिबद्ध कार्यकर्ताहरू भए पनि निर्वाचनको समयमा त्यो अनुसारको मत खस्न नसकेको तीतो यथार्थ उनले औंल्याए। अबका दिनमा ती सबै भुलहरूलाई सुधार्दै सिंगो पार्टी र कार्यकर्तालाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने बेला आइसकेको उनको भनाइ थियो।
डा. शशांक कोइरालाले शिथिल बनेको पार्टीलाई पुनः एकताबद्ध बनाउने उद्देश्यका साथ अहिले डा. शेखर कोइरालाले देशव्यापी अभियानको नेतृत्व गरिरहेको उल्लेख गर्दै उक्त एकता अभियानमा आफ्नो पूर्ण साथ, सहयोग र समर्थन रहने स्पष्ट सङ्केत गरे।
कांग्रेसलाई सङ्कटबाट जोगाएर पुनः बलियो र भरोसायोग्य बनाउनका लागि आपसी मतभेद त्यागेर एकता कायम गर्नु नै अहिलेको मुख्य र एकमात्र लक्ष्य हुनुपर्ने धारणा उनले राखे।