नेपाल एयरलाइन्स सञ्चालक समिति नियुक्ति बदर: सर्वोच्चद्वारा योग्यताक्रमका आधारमा फेरि निर्णय गर्न परमादेश

नेपाल एयरलाइन्स सञ्चालक समिति नियुक्ति बदर: सर्वोच्चद्वारा योग्यताक्रमका आधारमा फेरि निर्णय गर्न परमादेश

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य नियुक्तिसम्बन्धी सरकारको निर्णय बदर गरिदिएको छ। अदालतले छनोट समितिको सिफारिसमा पहिलो योग्यताक्रममा रहेका उम्मेदवारलाई विनाकुनै आधार र कारण नियुक्तिबाट वञ्चित गरिएको ठहर गर्दै योग्यताक्रमकै आधारमा फेरि निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको हो।

काठमाडौँ महानगरपालिका वडा नं. ३१ निवासी उपेन्द्रबहादुर कार्कीले दायर गर्नुभएको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार उत्प्रेषणको आदेशमार्फत् साविकको नियुक्ति बदर गर्ने फैसला सुनाएको हो। यससँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमेत सम्मिलित समितिको निर्णयमा गम्भीर कानुनी त्रुटि फेला परेको छ।

सरकारले गत वैशाख ३१ गते मन्त्रीस्तरीय निर्णयबाट डा. दीपक प्रसाद बाँस्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लीलाराज ढकाललाई निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो। तर छनोट समितिले गरेको मूल्यांकनमा सर्वाधिक ३६.६२५ अंक प्राप्त गरी पहिलो योग्यताक्रममा रहेका उपेन्द्रबहादुर कार्कीलाई नियुक्त नगरिएपछि उहाँले सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो।

सर्वोच्च अदालतले आफ्नो आदेशमा वैशाख ३१ को योग्यता क्रममा निवेदक कार्कीको नाम पहिलो स्थानमा रहेको र निजले सबैभन्दा बढी अंक प्राप्त गरेको देखिए पनि निर्णय गर्दा योग्यताक्रमका अन्य पछाडिका उम्मेदवारलाई छनोट गरिएको उल्लेख गरेको छ।

पहिलो योग्यताक्रममा रहेका निवेदकलाई नियुक्त नगर्नुको कुनै स्पष्ट आधार र कारण नखुलाइएको भन्दै सर्वोच्चले पहिलो नम्बरका उम्मेदवारलाई अन्यायमा पारेर 'चुज एन्ड पिक' को आधारमा गरिएको नियुक्ति अपारदर्शी र त्रुटिपूर्ण रहेको ठहर गरेको छ।

अदालतले समितिको सिफारिसअनुसार योग्यताक्रममा रहेका उम्मेदवारमध्येबाट सुशासनका मूल्य र मान्यताविपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न सरकारलाई आदेश दिएको छ।

साथै, यस आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षी बनाइएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा छनोट समितिलाई तत्काल उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ। छनोट समितिको मूल योग्यताक्रम सूचीमा उपेन्द्रबहादुर कार्की पहिलो, लीलाराज ढकाल दोस्रो, महेश्वर भक्त श्रेष्ठ तेस्रो, डा. दीपक बास्तोला चौथो र डा. भीम चन्द पाँचौँ स्थानमा रहेका थिए।

छुटाउनुभयो कि ?