एमाले नेताद्वय बस्नेत र बादलको आरोप: सामाजिक सञ्जालको एल्गोरिदम र लोकप्रिय नाराबाट एमालेविरुद्ध भ्रम फैलाइयो

एमाले नेताद्वय बस्नेत र बादलको आरोप: सामाजिक सञ्जालको एल्गोरिदम र लोकप्रिय नाराबाट एमालेविरुद्ध भ्रम फैलाइयो

काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेत र बागमती प्रदेश संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्रको दुरुपयोगमार्फत एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नियोजित रूपमा भ्रम सिर्जना गरिएको आरोप लगाएका छन्।

शुक्रबार आयोजित नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेताद्वयले नयाँ राजनीतिक शक्तिहरूले लोकप्रिय नाराका भरमा जनतालाई बहकाएको दाबी गरे।

बैठकमा बोल्दै एमाले सचिव बस्नेतले साम्राज्यवादी शक्तिहरूको सहयोगमा युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासी समुदाय, विदेशमा रहेका नेपाली तथा तीव्र सहरीकरण भएका क्षेत्रमा एमालेविरुद्ध व्यापक भ्रम फैलाइएको बताए। उनले एल्गोरिदमको माध्यमबाट साम्राज्यवादी शक्तिहरूको तागतमा र सेना–प्रहरीलगायत राज्यका संयन्त्रहरूको दुरुपयोग गरेर कम्युनिस्ट आन्दोलन र एमाले नेतृत्वप्रति भ्रम छरिएको दाबी गर्दै मुलुकमाथिको आक्रमण र विनाशलाई समेत परिवर्तन र क्रान्तिका रूपमा बुझ्ने वातावरण बनाइएको आरोप लगाए।

सचिव बस्नेतले वर्तमान सरकारमा रहेका पात्रहरूमाथि कडा प्रहार गर्दै 'अराष्ट्रवादी तत्व', 'सहकारी ठगीका मुद्दा व्यहोरेका व्यक्ति' तथा 'अन्तर्राष्ट्रिय शक्तिका एजेन्टका रूपमा परिचालित व्यक्तिहरू' सत्ताको नेतृत्वमा पुगेको टिप्पणी गरे।

जनताले ध्वंसलाई क्रान्ति बुझ्ने परिस्थिति निर्माण भएकै कारण बालेन जस्तो अराष्ट्रवादी तत्व, रवि जस्तो सहकारी ठगीलगायतका दर्जनौँ मुद्दा व्यहोरेको व्यक्ति र सुदन गुरुङ जस्तो टीओबी जस्ता अन्तर्राष्ट्रिय शक्तिको एजेन्टका रूपमा परिचालित शक्तिहरू आज सरकारमा पुगेको उनको भनाइ थियो। उनले डिजिटल माध्यमको प्रयोग गरेर आधारभूत वर्ग र विदेशमा रहेका युवाहरूलाई राजनीतिक रूपमा प्रभावित पारिएको र एमालेको बलियो संगठनलाई धक्का पुर्‍याउने प्रयास भइरहेको दाबी गरे।

यसैगरी बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले वर्तमान युगलाई समाजवादी क्रान्तिको युगका रूपमा चित्रण गर्दै आजको मुख्य संघर्ष एकाधिकारी पुँजीपति र श्रमजीवी वर्गबीच भइरहेको उल्लेख गरे।

उनले वर्गीय दृष्टिकोणबाट हेर्दा एकातिर विश्वका वित्तीय तथा एकाधिकारी पुँजीपति वर्ग र नेपालको सन्दर्भमा दलाल एवं नोकरशाह पुँजीपतिहरू रहेको तथा अर्कोतिर राष्ट्रिय पुँजीपति, मजदुर र किसान वर्गबीच चौतर्फी संघर्ष चलिरहेको विश्लेषण सुनाए। नेता बादलले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, विकास, समृद्धि र सुशासनजस्ता लोकप्रिय नाराहरूलाई एकाधिकारी पुँजीपतिहरूले आम जनतालाई आफ्नो प्रभावमा पार्न र भ्रमित गर्न रणनीतिक रूपमा प्रयोग गरिरहेको आरोप लगाए।

नेता बादलले सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘पपुलिज्ममा आधारित पार्टी’ को संज्ञा दिँदै उसले लोकप्रिय नाराका माध्यमबाट सामाजिक सञ्जालको एल्गोरिदम प्रयोग गरी नेपाली जनतालाई भ्रमित बनाएको दाबी गरे।

विश्वभर नै पपुलिज्म र प्रविधिको दुरुपयोग गरेर श्रमजीवी वर्गको ध्यान मोड्ने काम भइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि रास्वपाले लोकप्रिय नारा दिएको र त्यही नारालाई एल्गोरिदममार्फत अत्यधिक प्रचार गरेर जनमतलाई दिग्भ्रमित पारेको बताए। एमालेका दुवै शीर्ष नेताहरूले प्रविधिको यो नयाँ चुनौती र वैचारिक भ्रमलाई चिर्न पार्टीका नेता तथा कार्यकर्ताहरू वैचारिक रूपमा सबल हुनुपर्ने र जनताको घरदैलोमा पुगेर यथार्थ बुझाउनुपर्ने आवश्यकतामा जोड दिए।

धेरै पढिएको

छुटाउनुभयो कि ?